काठमाडौं । उपत्यकाको सातदोबाटो, रत्नपार्क हुँदै नारायणगोपाल चोकसम्मको मेट्रोलाइनको डीपीआर तयार गर्न परामर्शदाता छनोट सुरु भएको छ ।
उपत्यकामा मेट्रो रेल संचालन गर्न ५ वटा लाइनमा सर्भे भएको थियो । त्यसमध्ये सातदोबाटो, रत्नपार्क र नारायण गोपाल चोकमा मेट्रो रेल गुडाउनका लागि डीपीआर र डिटेल डिजाइनको काम अघि बढाउन परामर्शदाता छान्ने काम भइरहेको रेल विभागले जानकारी दिएको छ ।
कन्सलटेन्ट छनोट गरेर चालू आर्थिक वर्ष २०७६÷७७ भित्र डीपीआर तयार गरिने विभागका इन्जिनियर किरण कार्कीले जानकारी दिए ।
सन् २०१२ मा तयार भएको रिपोर्ट अनुसार प्रति किलोमिटर ३ अर्ब खर्च हुने अनुमान गरिएको थियो । त्यतिबेला मेट्रो रेल कुल ७८ किलोमिटर लामो बनाउने प्रारम्भिक अध्ययन भएको थियो । अहिले बनाउन कति लाग्छ भन्नेकुरा डीपीआर तयार भएपछि मात्रै थाहा हुनेछ ।
‘जति ढिला भयो त्यतिनै यसमा लाग्ने लागतमा वृद्धि हुँदै जान्छ, पहिलेको अध्ययनले प्रति किलोमिटर ३ अर्ब लाग्ने देखाएको थियो अहिले बढेर साढे ४ अर्बसम्म पनि लाग्न सक्छ ।,’ कार्कीले भने ।
गत वर्ष भएको लगानी सम्मेलनमा काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माणका लागि लगानी प्रस्ताव आएको थियो । ‘बुट’ मोडेलमा निर्माण गर्न प्रस्ताव गरिएको काठमाडौं मेट्रो रेल परियोजनाका लागि ३ खर्ब ३१ अर्ब ९२ करोड लगानीको प्रस्ताव आएको लगानी बोर्डले जनाएको थियो ।
लगानी बोर्डले यो परियोजनाका लागि ५ खर्ब ४७ अर्ब १७ करोड रुपैयाँ लगानी प्रक्षेपण गरेको थियो । बोर्डले यसअघि सन् २०१७ मै यो परियोजना प्रस्ताव गरेको हो ।
सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोकको १२.१० किलोमिटरको लामो रेलमार्ग निर्माण हुने छ । उक्त रुटमा यात्रु चढ्ने–ओराल्ने ११ स्टेशन निर्माण गर्नु पर्ने प्रस्ताव लगानी बोर्डले गरेको थियो ।

