जापानी मोटर कम्पनी होन्डाले हालमात्रै भारतीय बजारमा साइनको एसपी १२५ मोटरसाइकलको नयाँ संस्करण सार्वजनिक गरेको छ । कम्पनीले यो मोटरसाइकललाई बीएस ६ इमिशन मापदन्ड अनुरुपको इन्जिनमा ल्याएको छ ।
निकै शार्प तथा स्पोर्टी लुक्समा आएको उक्त मोटरसाइकल नयाँस्वरुप, डिजाइन तथा इन्जिनमा आएको हो । कम्पनीले ल्याएको होन्डा साइन १२५ का ५ विशेष तथ्य यस्ता रहेका छन् ।
भेरियन्ट तथा मूल्य
यो मोटरसाइकल ड्रम र डिस्कगरि दुई भेरियन्टमा उपलब्ध हुनेछ । ड्रम भेरियन्टको मूल्य ७२ हजार ९ सय र डिस्क भेरियन्ट ७७ हजार १ सय भारु तोकिएको छ । नेपाली बजारमा यसको रेगुलर मोडलको बिक्री भइरहेको छ जसको मूल्य २ लाख २८ हजार रुपैयाँ तोकिएको छ ।
इन्जिन
नयाँ मोटरसाइकलमा स्मार्ट पावर टेक्नोलोजिको साथै फ्युल इन्जेक्टेड इन्जिन लगाइएको छ । कम्पनीले इन्जिनको सिस्टम मात्रै नभई पर्फमेन्स तथा फ्युल इकोनमीमा समेत सुधार गरेको छ । यसको इन्जिन बीना आवाज स्टार्ट हुने कम्पनीले जनाएको छ । मोटरसाइकलमा उपलब्ध इन्जिनले ७५ सय आरपीएममा १०.७२ बीएच पावरका साथै ६ हजार आरपीएममा १०.९ एनएम टर्क उत्पादन गर्छ । रेगुलर मोडलको तुलनामा यो इन्जिनले १६ प्रतिशत बढि माइलेज दिने कम्पनीले जनाएको छ ।
डिजाइन
होन्डा सिबी साइनको लम्बाई ,चौडाई र उचाई पुरानो मोडलको तुलनामा बढी रहेको छ । देख्दा सार्प देखिने यो मोटरसाइकलमा नयाँ एलइडी हेडल्याम्प सेटअप, मस्क्युलर फ्युल ट्यांकी, स्पोर्टी लुक सहितको ग्राफिक्स, पाँच स्पोक अलोय ह्वील, क्रोम शिल्डको साथै नयाँ एक्जसट लगाइएको छ । मोटरसाइकलको रियर लुक्स निक्कै बोल्ड रहेको छ ।

विशेषता
यसमा साइलेन्स स्टार्ट एसिजी स्टार्टर मोटर लगाइएको छ भने, यो सेग्मेन्टका अन्य मोटरसाइकलमा यस्तो फिचर उपलब्ध छैन । मोटरसाइकलमा नयाँ स्विच गियर र इन्र्टग्रेटेड पास स्वीचको विशेषता दिइएको छ । मोटरसाइकलको दायाँ र बायाँमा हाइ बीम र इन्जिन स्र्टाट स्टप बटन लगाइएको छ । यसमा फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।
उक्त इन्स्ट्रुमेन्ट क्लस्टरमा गियर पोजिशन इन्डीकेटर, डबल ट्रिप मिटर, एभरेज फ्युल इकोनमी इन्डीकेटर, डिस्टेन्स टु इम्पटी तथा सर्भिस ड्यू इन्डिकेटरको विशेषता उपलब्ध रहेको छ ।
नयाँ एसपी साइन कम्तीमा आगामी चैतसम्म नेपाल भने आउने छैन । किनकी नेपाल आयल निगमले आगामी चैत १९ गतेबाट मात्रै बीएस ६ (यूरो ६ मापदण्ड बराबर) को फियुल ल्याउने जनाएको छ ।

