अन्तर्राष्ट्रिय बजारमा बढ्दो एसयूभीको मागलाई सम्बोधन गर्न गाडी उत्पादक कम्पनीहरु लागिपरेका छन् । बजारमा एसयूभी प्रतिको आकर्षण तथा मागसमेत बढ्दै गएको छ ।
पछिल्लो समय अधिकांश अटोमोबाइल्स कम्पनी सेडान, ह्याचब्याक, क्रसओभर मोडलभन्दा पनि एसयूभीको उत्पादनमा केन्द्रित हुन थालेका छन् । नयाँ उत्पादनलाई प्राथमिकतामा राखेका अटोमोबाइल्स कम्पनीले एकपछि अर्काे एसयूभी सार्वजनिक गरिरहेका छन् ।
भारतीय बजारलाई आधार बनाएर सन् २०२० मा १५ नयाँ एसयूभी बजारमा आउने पक्का भएको छ । भारतमा आउने यी मोडल नेपाली बजारमा समेत भित्रिने संभावना रहेका एसयूभी हुन् ।
मारुती, हुन्डाई, किया, टाटा, फक्सस्वागेन लगायतका कम्पनीले नयाँ एसयूभी ल्याउने तयारी गरिरहेका छन् ।
मारुती सुजुकीले २०२० मा पेट्रोल भर्सन अन्तर्गत ब्रेजाको फेसलिफ्ट संस्करण सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यो मोडल सब फोर मिटर सब कम्प्याक्ट एसयूभीको रुपमा सार्वजनिक हुनेछ ।
यस्तै, हुन्डाई मोटर्सले दुई नयाँ एसयूभी सार्वजनिक गर्ने भएको छ । कम्पनीले क्रेटाको नयाँ संस्करण फेब्रुअरीमा सार्वजनिक गर्ने छ भने, हुन्डाई टुसान फेसलिफ्ट पनि २०२० को सुरुवातमै लन्च गर्ने कम्पनीको तयारी छ ।
कियाको सब कम्प्याक्ट एसयूभी पनि २०२० को मध्यसम्ममा बजारमा आउने छ । यस्तै, टाटा मोटर्सले तीन नयाँ एसयूभी ल्याउने छ । कम्पनीले फेब्रुअरीमा नेक्सनको फेसलिफ्ट संस्करण र टाटा बजर्ड (एच७ एक्स) तथा २०२० को अन्त्यसम्ममा टाटा हर्नविल (एच२ एक्स) सार्वजनिक गर्ने छ ।
अन्य कम्पनीमा महिन्द्राले पनि तीन नयाँ मोडल ल्याउने भएको छ । कम्पनीले २०२० को सुरुवातमा नै महिन्द्रा स्कर्पियो, सोही समयमा अल न्यु महिन्द्रा थार र आगामी वर्षको अन्त्यमा अल न्यु एक्सयुभी ५०० ल्याउने छ ।
त्यसैगरी एमजीले ‘डि ९०’, फक्सवागनको टि रोस, स्कोडाको कामिक २०२० मा सार्वजनिक हुने एसयूभी हुन् ।


