काठमाडौं । मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनी हिरोको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले एक्सपल्स २०० नेपाली बजारमा बिक्री सुरु गरेको छ । छोटो समयमा राम्रो बजार पाइरहेको एक्सपल्स एडभेन्चर सिरीजको बाइक हो ।
यो बाइकले नेपाली बजारमा पावर, डिजाइन, मूल्य र विशेषताका आधारमा धेरै मोडलसँग प्रतिस्पर्धा गरिरहेको छ । यस्तोमा कम्पनीले होन्डा एक्सआर १९० एलसँग कसरी प्रतिस्पर्धा गरिरहेको छ भन्ने हामीले यहाँ उल्लेख गर्न कोशिस गरेका छौं । एक अर्काका प्रतिस्पर्धी यी दुई मोटरसाइकलबीचको तुलनात्मक समानता र भिन्नता यस्तो रहेको छ ।
स्पेशिफिकेशन
एक्सपल्स २०० को लम्बाई २ हजार २२२ एमएम, चौडाइ ८ सय ५० एमएम र उचाई १ हजार २५८ एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स २२० एमएम रहेको छ भने ह्वीलवेश १ हजार ४१० एमएम रहेको छ ।

होन्डा एक्सआर १९० एलको लम्बाई २०७५ एमएम, उचाई १ हजार १२४ एमएम,चौडाई ८१२ एमएम रहेको छ । १ हजार ३५१ एमएम ह्वीलवेश भएको यो बाइकको ग्राउन्ड क्लियरेन्स २४५ एमएम रहेको छ ।
इन्जिन
होन्डा एक्सआर १९० एलमा १८४.४ सीसी एओएचसि एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन लगाइएको छ । यसले ८००५ आरपीएममा १५.६ बिएच पावरका साथै ६००० आरीपएममा १५.७ एनएम टर्क उत्पादन गर्छ । यो बाइकमा १२ लिटर क्षमताको फ्युल ट्यांकी लगाइएको छ ।
यस्तै, एक्सपल्स २०० मा उपलब्ध २०० सीसी, एयर कुल्ड, सिंगल सिलिन्डर इन्जिनले ८००० आरपीएममा १८.४ पीएस पावर र ६५०० आरपीएममा १७.१ एनएमको टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ५ स्पीड गियरबक्स समावेश गरिएको छ ।
टायर र ब्रेक
एक्सपल्स २०० अफरोड राइडीङलाई मध्यनजर गर्दै डिजाइन गरिएको हो । एक्सपल्स २०० मोटरसाइकलमा स्पोक ह्विल्स र अफ तथा अनरोड दुबै अनुकुल टायर रहेको छ । यसको फ्रन्ट साइडमा २१ इन्च र रियरम १८ इन्च ह्वील लगाइएको छ । यो बाइकको फ्रन्ट र रियर दुबैमा डिस्क ब्रेक रहेको छ । बाइकमा सिंगल च्यानल एबीएस पनि समावेश गरिएको छ ।

यस्तै होन्डा एक्सआर १९० एलको फ्रन्ट साइडमा १६१ एमएमको टेलिस्कोपिक फर्क र रियरमा मनोशक स्विंग आर्मको सस्पेन्सन दिइएको छ । यसको फ्रन्ट साइडमा १९ इन्च र रियरमा १७ इन्चको अलोय ह्वील लगाइएको छ । यस्तै, फ्रन्ट साइडमा २४० एमएमको हाइड्रोलिक डिस्क र रियरमा ११० एमएमको ट्रेलिङ ड्रम ब्रेक लगाइएको छ ।
विशेषता
एक्सपल्स २०० मा लामो र शार्प फ्रन्ट मडगार्ड, हरेक प्रकारको सडकको लागि उपयुक्त टायर र राउण्ड एलईडी हेडल्याम्प रहेको छ । यसमा स्मार्ट कनेक्ट डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र सिटको भित्री भागमा यूएसबी चार्जिङ पोर्ट राखिएको छ । डिजीटल टेकोमिटर, स्पिडोमिटर, ट्रिपमिटर जस्ता फिचर यो बाइकमा उपलब्ध छन् ।
होन्डा एक्सआर १९० मा पनि, स्पोक रिम, एबीएस, उच्च ग्राउन्ड क्लियरेन्ज, आकर्षक माइलेज जस्ता फिचर यसमा समेटिएका छन् ।
मूल्य
हिरो एक्सपल्स २०० नेपाली बजारमा ३ लाख ८५ हजार रुपैयाँमा बिक्री हुदै आएको छ भने, होन्डा एक्सआर १९० एल ५ लाख ९४ हजार रुपैयाँमा बिक्री हँुदै आएको छ ।


