भारतीय बजारबाट बाहिरिने हल्लाका बीच डाट्सनले नयाँ मोडलको ट्रेडमार्क दर्ता गरेको छ । नयाँ ट्रेडमार्क दर्तासँगै कम्पनीले भारतीय बजारमा सब फोर मिटर कम्प्याक्ट एसयूभी बजारमा ल्याउने भएको हो ।
यसले भारतबाट डाट्सन बाहिरिने हल्ला निराधार भएको पुष्टि भएको भारतीय मिडियाले उल्लेख गरेका छ् । ‘डाट्सन म्याग्नाइट’ नामबाट कम्पनीले नयाँ ट्रेडमार्क दर्ता गराएको हो । यो कम्पनीले ल्याउने नयाँ मोडल वा नयाँ कन्सेप्ट मध्ये एक हुनेछ । जसलाई कम्पनीले भारतीय प्लान्टमा उत्पादन गर्ने छ ।
डाट्सन म्याग्नाइटलाई कम्पनीले आगामी अटो एक्स्पो २०२० मा सार्वजनिक गर्ने तयारी गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । सम्भवत डाट्सनले आफ्नो नयाँ मोडल रेनो–निसानको सिएमएफए– ए प्लस प्ल्याटफर्ममा उत्पादन गर्नेछ । जसमा १.० लिटर थ्रि सिलिण्डर टर्बो चार्ज्ड इन्जिन प्रदान गर्न सक्ने जनाइएको छ ।

नेपाली बजारमा डाट्सनका उत्पादन पायोनियर मोटोकर्पले बिक्री वितरण गर्दै आएको छ । अहिले कम्पनीले बजारमा रेडी गो, गो र गो प्लस बिक्री गर्दै आएको छ । बजारमा सबैभन्दा कम मूल्यका कार मोडल बिक्री गर्ने कम्पनीमा डाट्सन पर्छ । कम्पनीको सबैभन्दा सस्तो मोडल रेडी गो हो ।

