ब्राइसनले इलेक्ट्रीक बस, माइक्रोबस र कार बनाउने कम्पनी नेपालमै खोल्ने

काठमाडौं । ब्राइसन ब्राण्डका इलेक्ट्रीक बस नेपालीमा नै उत्पादन गर्ने घोषणा भएको छ । हिजो राजधानीमा आयोजित एक कार्यक्रममा सन् २०२५ भित्र ब्राइसनका इलेक्ट्रीक बस, माइक्रो बस र कार उत्पादन हुने जानकारी दिइयो ।

नेपाली बजारमा विगत २८ वर्षदेखि अटोमोबाइल क्षेत्रमा सक्रिय व्यवसाय गर्दै आएको हिमालयन अर्गनाइजेशन अन्तर्गतको हिमालय मोटरक्स प्रालिले बिक्री गर्ने उक्त ब्राण्डको उत्पादन यूनिट पनि सोही कम्पनीले लगाउने जानकारी ब्राइसन इन्डियाका इन्जिनियर फिरोज खानले दिएका छन् ।

ब्राइसन इलेक्ट्रीक बसमा विश्व रेकर्ड बनाउन सफल गाडी उत्पादनक कम्पनी हो ।

‘सुरुमा हामी इलेक्ट्रीक बस र माइक्रोबस बनाउने छौं, त्यसपछि हाम्रो ध्यान इलेक्ट्रीक कारमा रहनेछ । नेपालमा उत्पादन सुरु हुँदा यी सबै उत्पादन हुनेछ’, खानले भने ।

कम्पनीले सन् २०१५ मा एकपटकको फुल चार्जमा १०१८ किलोमिटर बस चलाएर विश्व किर्तिमान बनाएको थियो ।

अष्ट्रेलियन प्रविधिमा तयार भएका यी बसमा प्रयोग भएको व्याट्रीमा २० वर्षको ग्यारेन्टि प्रदान गरिने हिमालय मोटरक्सले जनाएको छ ।

यी बसमा प्रयोग भएका इलेक्ट्रीक मोटरले १०७ बीएचदेखि १८७ बीएचसम्मको पावर प्रदान गर्ने कम्पनीको आधिकारीक वेभ साइटमा उल्लेख गरिएको छ भने ६०० एनएम टर्क प्रदान गर्नेछ ।

यी बसमा प्रयोग भएको व्याट्रीलाई चार्ज गर्न ४ देखि ८ घण्टा लाग्ने छ । ब्राइसनले आगामी मे महिनादेखि भारतीय बजारमा इलेक्ट्रीक बस र माइक्रोबस उत्पादन सुरु गर्ने जनाएको छ । नेपाली बजारमा पनि भारतमा बनेका इलेक्ट्रीक बस र माइक्रोबस बिक्री वितरण हुने छन् ।


Back_to_top