काठमाडौं । सन् २०१९ हामीबाट विदा भइसकेको छ । यद्यपी २०१९ मा भएका घटनाका बारेमा विभिन्न चर्चाहरु कायमै छन् । यस्तोमा भारतीय उत्पादकले बनाएका एक वर्षभर गुगलमा सर्वाधिक खोजी भएका मोटरसाइकलबारे चासो हुनु स्वभाविक हो ।
गुगलमा सर्वाधिक खोजी भएका मोटरसाइकल मध्ये अधिकांश मोडल नेपाली बजारमा पनि बिक्री वितरण हुँदै आएका छन् ।
५. बजाज पल्सर १५०

निक्कै रुचाइने पल्सर सिरिजका बाइक मध्ये पल्सर १५० सर्वाधिक खोजिएको बाइकको सूचिमा पाँचौ स्थानमा परेको थियो । कम्पनीले नियोस, टीडी जस्ता फिचर थप गरेको कारण २०१९ भर पल्सर चर्चामा रहेको थियो ।
४. रोयल इन्फिल्ड बुलेट ३५०

रोयल इन्फिल्ड बुलेट ३५० पनि २०१९ मा धेरै खोजिएको मोटरसाइकल हो । नेपाली बजारमा समेत राम्रो प्रतिक्रिया पाइरहेको यो मोडल हाल ५ लाख १५ रुपैयाँमा बिक्री भइरहेको छ ।
आकर्षक डिजाइन, फिचर लोडेड, उत्कृष्ट पावरट्रेन बोकेको यो बाइक बिशेषत युवापुस्ताको रोजाइमा पर्नेगर्छ ।
३. हिरो स्प्लेन्डर

स्प्लेन्डर रेन्ज अन्तर्गत सर्वाधिक बिक्री हुने यो मोटरसाइकल गुगलमा धेरै खोजिएको छ । नेपालमा अपेक्षीत व्यापार गर्न नसकेपनि भारतमा सर्वाधिक बिक्री हुने मोडल हिरो स्प्लेन्डर हो ।
२. होन्डा एक्टिभा १२५

होन्डाले बिएस ६ इन्जिनमा सार्वजनिक गरेको यो स्कुटर पनि गुगलमा सर्वाधिक खोजिएको छ । नयाँ मोटर र नोइजलेस स्टार्टरको फिचर पाएको यो स्कुटरमा थुप्रै आधुनिक विशेषता समेटिएका छन् । यो भारतमा धेरै बिक्री हुने मध्येको दोस्रो मोडल समेत हो । नेपाली बजारमा यो स्कुटर बीएस फोर इन्जिनमा एसटिडी र डिएलएक्स भेरियन्टमा बिक्री हुदै आएको छ ।
१. केटीएम ७९० ड्युक

स्पोर्ट बाइक केटीएम ड्युक७९० यो वर्ष सर्वाधिक खोजिएको बाइकको सुचिमा पहिलो स्थानमा परेको छ । नेकेड भर्सनको यो बाइक प्रति युवापुस्ताको विशेष आकर्षण रहेको कारण पहिलो स्थानमा पर्न सफल भएको हो ।
यसका साथै, यो वर्ष रेभोल्ट ४००, बजाजको नयाँ इलेक्ट्रीक स्कुटर चेतक, टीभीएस ज्यूपिटर क्लासिक स्कुटर, केटीएम ड्युक ३९० सर्वाधिक खोजिएको बाइकको सूचीमा टप १० भित्र परेका थिए ।


