काठमाडौं । बजाज अटोले भारतीय बजारमा यही मार्च महिनामा २५० सीसी क्षमताको डोमिनार सार्वजनिक गर्ने भएको छ । उक्त कुरा कम्पनीका प्रबन्ध निर्देशक राजिब बजाजले पुष्टी गरेका हुन् ।
यस्तोमा बजाजको २५० सीसी सेग्मेन्टमा आउने पहिलो मोटरसाइकल नेपाल कहिले आउँछ भन्ने कौतुहलता हुनु स्वभाविक हो । त्यसमा पनि नेपालमा सबैभन्दा धेरै मोटरसाइकल बेच्ने बजाजले ल्याउने नयाँ मोडलको चासो हुने गरेको छ ।
‘भारतमा यहि महिना बजाज डोमिनार २५० सार्वजनिक हुने जानकारी आएको छ । हामीले पनि बैशाखमा यसलाई नेपाल ल्याउनेगरि तयारी गरिरहेका छौं’, नेपालको लागि आधिकारिक उत्पादक तथा वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाले मेरोअटोसँग भने ।
गोल्छाका अनुसार यो मोटरसाइकलले २५० सीसी सेग्मेन्टमा उत्कृष्ट व्यापार गर्ने छ । यसमा दिइएका अधिकांश फिचर डोमिनार ४०० बाट लिइएकोले पनि यसले राम्रो व्यापार गर्ने उनको तर्क थियो ।
कस्ता आउलान् फिचर ?
बजाज डोमिनार २५० मा सबै लाइट एलइडी प्रयोग हुने अनुमान गरिएको छ । सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टरको साथमा अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प, ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट जस्ता मुख्य फिचर उपलब्ध हुने अनुमान गरिएको छ । यसका साथै यसमा स्लिपर क्लच, एबीएस जस्ता फिचर समेत उपलब्ध रहने छन् ।
इन्जिन
कम्पनीले यसमा २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी इन्जिन प्रदान गर्नेछ । उक्त इनिजनले अधिकतम ९००० आरपीएममा ३० पीएस पावर र ७५०० आरपीएममा २४ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहने छ ।

