सस्तो मूल्यका दुई ‘ब्राण्ड न्यू मोडल’ ल्याउँदै मारुती सुजुकी

मारुती सुजुकी भारतमा ५० प्रतिशत बजार हिस्सा ओगट्न सफल कम्पनी हो । कम्पनीले भारतीय ग्राहकलाई मध्यनजर गर्दै कम मूल्यमा उत्कृष्ट माइलेज प्रदान गर्ने गाडीहरु बनाई रहेको छ ।

यस्तोमा कम्पनीले कम मूल्यका दुई ब्राण्ड न्यू मोडल उत्पादन गरिरहेको खबर बाहिर आएको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले बनाइरहेको सबैभन्दा सस्तो कारले अल्टो ८०० लाई रिप्लेस गर्नेछ भने अर्को १ हजार सीसी क्षमताको कारले अहिलेको सेलेरियोलाई विस्थापित गर्ने अनुमान गरिएको छ ।

कम्पनीले उत्पादन सुरु गरेको दुई नयाँ मोडलमा ८०० सीसी कारको ‘कोड नेम वाईओएम’ (YOM) राखिएको छ भने, १००० सीसी क्षेमताको कारको नाम ‘वाईएनसी’ (YNC) राखिएको छ ।

कम्पनीले ८०० सीसी क्षमताको वाईओएम कारलाई यही वर्ष बजारमा उतार्ने छ भने वाईएनसी मोडललाई सन् २०२१ को चाडपर्वको सिजनमा पारेर सार्वजनिक गर्नेछ ।

भारतमा बढ्दो चिनियाँ र यूरोपियन ब्राण्डको प्रभावलाई कम गर्न कम्पनीले एकपछि अर्को मोडल तयार गर्न सुरु गरेको अनुमान गरिएको छ ।

साथै, कम्पनीले अहिले बजारमा बिक्री भइरहेका आफ्ना सबै मोडललाई नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा समेत अपग्रेड गरिसकेको छ ।

कम्पनीले अटो एक्स्पो २०२० मा पनि आफ्नो दुई मोडलको फेसलिफ्ट सार्वजनिक गरेको थियो । कम्पनीले इग्नीस र भिटारा ब्रेजाको फेसलिफ्ट बजारमा ल्याएको हो । यी दुबै गाडीमा कम्पनीले बीएस ६ इन्जिन दिएको छ ।

मारुती सुजुकीले भारतमा उत्पादन गर्ने अल्टो, सियाज, स्वीफ्ट, एर्टिगा, एक्सएल ६, एसक्रस, बलेनो, इग्नीस, ब्रेजा, वागेनआर, सेलेरियो र एसप्रेसोलाई बीएस ६ इन्जिनमा ल्याइसकेको हो ।

यस्तोमा नयाँ आउने दुई नयाँ मोडल र इलेक्ट्रीक कारको सहायताले आफ्नो बजार हिस्सा अझै बढाउने दाउमा कम्पनी रहेको बुझन कठिन पर्दैन ।


Back_to_top