काठमाडौं । सुजुकी भीजीले आफ्ना उत्पादनमा दिदै आएको वारेन्टी र सर्भिस वारेन्टी दुबैमा समय थप गरेको छ । कम्पनीले बिक्री गर्दै आएको सुजुकीको विभिन्न मोडलमा लकडाउन अवधिको वारेन्टी जुन ३० सम्मको लागि प्रदान गरेको हो ।
कोरोना भाइरसको कारण विगत १७ दिनदेखि नेपालमा लकडाउन भइरहेको छ । यस्तोमा विभिन्न कम्पनीहरुले लकडाउन अवधिको सर्भिस र वारेन्टी दुबैको समय थप गर्दै आएका छन् । अहिलेसम्म घोषणा गर्नेमा सुजुकीको समयावधी सबैभन्दा धेरै हो ।

‘हामीले लकडाउन अवधिमा रहेको फ्रि सर्भिस र वारेन्टी पिरियडलाई बढाएर जुन ३० सम्म पुर्याएका छौं । हाम्रा कुनैपनि क्रियाकलाप ग्राहकको सहजता र फाइदाको लागि हुन्छ । हामी उत्कृष्ट सर्भिस र उत्पादन ग्राहकलाई दिन सधै तयार रहेका छौं’, कम्पनीका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले भने ।
कम्पनीले आफ्ना सबै ग्राहकलाई ढुक्कसँग घरमा नै सुरक्षीत बस्न समेत अनुरोध गरेको छ ।
नेपालमा सुजुकीको जिक्सर मोडल निकै सफल मोडलमा पर्छ । अहिले जिक्सर १५५ मा तीन भेरियन्ट, २५० मा पनि ३ भेरियन्टको साथ स्कुटर र कम्यूटर सेग्मेन्ट मोटरसाइकल समेत सुजुकी भीजीले बिक्री वितरण गर्दै आएको छ ।


