काठमाडौं । विश्वभर कोरोनाको महामारी बीचपनि अटो उत्पादक कम्पनीहरुले आन्तरिक रुपमा नयाँ मोडल सार्वजनिक गरिरहेका छन् । यस्तोमा फक्सवागनले पोलोको २०२० मोडल सार्वजनिक गरेको छ । कम्पनीले नयाँ पोलोमा बीएस ६ इन्जिनका अलावा थुप्रै कस्मेटिक परिमार्जन गरेर पोलो सार्वजनिक गरेको हो ।
कम्पनीले पोलो ह्याचव्याकलाई अब भने पेट्रोल इन्जिनमा मात्र ल्याएको छ । जसमा १.० लिटर, १.२ लिटर र १.० लिटर टर्बो इन्जिन रहेको छ । कम्पनीको सुरुवाति भेरियन्ट पोलो ट्रेन्डलाइन भेरियन्टमा १.० लिटर एमपीआई इन्जिन रहेको छ भने यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।
नेपाली बजारमा फक्सवागनले बिक्री गर्दै आएको सबैभन्दा कम मूल्यको १.० लिटर एमपीआई इन्जिनयुक्त पोलोको नयाँ मोडलमा सुरुक्षाको लागि यसमा डियूल एयरव्याग, एबीएस, रियर पार्किङ सेन्सर, एड्जेस्टेवल हेड रेष्ट, रियर फग लाइट, १४ इन्चको स्टील ह्वील, बडी कलर ओआराभीएमएसमा टर्न इन्डिकेटर, हिटेड विन्डस्कृन दिइएको छ ।
साथै, व्ल्याक एण्ड ग्रे इन्टेरियर, एड्जस्टेवल स्टेरिङ, फ्ल्याट वटम स्टेरिङ ह्वील, ड्राइभर साइड डेड पेडल, फोल्डीङ रियर सिट, हाइट एड्जस्टेवल ड्राइभिङ सिट, १४ इन्चको स्पेयर ह्वील जस्ता विशेषता यसका रहेका छन् ।
अहिले नेपालमा बीएस ४ मापदण्डमा बिक्री वितरण हुँदै आएको यो मोडल सफल मोडलको रुपमा रहेको छ । यसले बजारमा हुन्डाई ग्राण्ड आई १०, सुजुकी स्वीफ्ट जस्ता मोडलसँग प्रतिस्पर्धा गरिरहेको छ ।
विभिन्न ४ भेरियन्टमा बिक्री हुँदै आएको पोलो १.० को सुरुवाति मूल्य २८ लाख ९५ हजार रुपैयाँ रहेको छ भने टप भेरियन्टको मूल्य ३५ लाख ४५ हजार रुपैयाँ रहेको छ ।



