काठमाडौं । टाटा नानो नेपालका कार पारखी र सानो भएपनि कार किन्छु भन्ने हरेक नागरिकको दिमागमा बसेको नाम हो । सुरुवातमा कम मूल्य र पछि कमजोर बिक्रीको कारण चर्चामा रहेको नानोलाई एक डिजाइनरले इलेक्ट्रीक कन्सेप्टको रुपमा ल्याएका छन् ।
रतन टाटाको महत्वाकाङ्क्षी योजनाको रुपमा आएको नानो कार २०१८बाट उत्पादन बन्द गरिएको थियो । भारतमा एक लाख मूल्य तोकेर बिक्री गरिएको यो कार संसारकै सस्तो कार थियो ।
डिजाइनर विशाल बर्माले तयार गरेको ‘आईनानो’को कन्सेप्ट अहिले सोसल मिडियामा निकै चर्चामा रहेको छ । उनले दुई ढोका दिएर डिजाइन गरेको आईनानोलाई पुरानै डिजाइनमा आकर्षक स्वरुप प्रदान गरेका छन् ।

बर्माका अनुसार यसलाई संसारकै सस्तो इलेक्ट्रीक कारको रुपमा बजारमा ल्याउन सकिने छ । चार सिट क्षमतामा यसको इन्टेरियर तयार गरिएको छ भने, बाहिरी भागलाई पुरानै डिजाइनमा तयार गरिएको छ । सानो स्थानमा सहजै पार्किङ गर्न सकिने नानोको साइजलाई डिजाइनरले यसमा पनि निरन्तरता दिएका छन् । यसमा सबै किसिमका लाइट एलइडी रहनेगरि डिजाइन गरिएको छ ।
सानो साइजको भएपनि यसको भित्र एथेष्ट ठाउँ रहेको छ । उनले यो कारमा पानारोमिक मोनो ग्लास विन्डसिल्ड, फास्ट चार्जिङ सर्पोट, एडभान्स कनेक्टीभिटी, अटोनोमस ड्राइभिङ सिस्टम, ठूलो टचस्कृन, ३६० डिग्रिमा घुमाउन सकिने अगाडिको प्यासेन्जर सिट जस्ता फिचर डिजाइन गरेका छन् ।
यो डिजाइन कम्पनीको आधिकारीक डिजाइन नभएपनि यसले बजारमा पाएको चर्चाले कम्पनीले एकपटक सोच्न सक्ने अनुमान गरिएको छ । उसोत टाटाले जयम अटोसँग मिलेर टाटा नानोलाई इलेक्ट्रीकमा ल्याउन काम गरिरहेको बताइएको थियो । तर, अहिलेसम्म कम्पनीले यसको आधिकारीक घोषणा भने गरेको छैन ।


