भारत र चीनबीच गलवान भ्यालीमा भएको पछिल्लो तनावको कारण महाराष्ट्र सरकारले चिनीयाँ कम्पनी ग्रेटवाल मोटर्सको लगानीलाई थाती राख्ने निर्णय गरेको छ । चिनीयाँ अटोमोवाइल कम्पनी ग्रेटवालले भारतमा फ्याट्री राख्ने अन्तिम तयारी गरिरहेको थियो ।
अटो एक्स्पो २०२० मा भएको सानदार सहभागिता देखाउँदै भारतीय बजार प्रवेशको बाटो खोलेको ग्रेटवाल पछिल्लो घटनाक्रमले अन्योलमा परेको छ ।
ग्रेटवाल मोटर्सले भारतको महाराष्ट्रको पुणे स्थित तेलेगाँउमा प्लान्ट स्थापना गर्नका लागि ३ हजार ७७० करोड भारतीय रुपैयाँ लगानी गर्ने प्रतिवद्धता गरेको थियो । जसबाट २ हजार ४२ जनालाई रोजगारी उपलब्ध हुने अनुमान गरिएको थियो ।
कम्पनीले पुुणेमा रहेको जनरल मोटर्सको प्लान्ट खरिद गर्नका लागि सम्झौँता गरिसकेको समयमा महाराष्ट्र सरकारले लगानीको अन्तिम स्विकृती नदिएको हो ।
गत हप्ता (जुन १६, २०२०) मा मात्र भर्चुवल एमओयू हस्ताक्षर समारोहमा गे्रटवाल मोटर्स भारतका प्रबन्ध निर्देशक पार्कर सिले जनरल मोटर्सको प्लानटमा वर्ल्डक्लास टेक्नलोजीको प्रयोग गरेर पूर्णतया अटोमेटेड ‘स्टेट अफ दि आर्ट’ प्लान्ट बनाइने जनाएका थिए ।
उक्त अवसरमा कम्पनीले १ विलीयन डलर लगानी गर्ने र प्रत्येक्ष रुपमा ३ हजार रोजगारी सृजना गर्ने जानकारी दिइएको थियो । जनरल मोटर्सको स्वामित्वमा रहेको उक्त प्लान्ट पूणेबाट ४५ किलोमिटर र मुम्बईबाट १०० किलोमिटर पर करिब ३०० एकर्ड क्षेत्रफलमा फैलिएको छ ।
ग्रेटवाल मोटर्स लगाएत अर्को चिनीयाँ लगानी रहेको बेजीफोटन मोटर्सको इलेक्ट्रीक बस बनाउने १ हजार करोडको लगानी तथा हाइड्रोलिक इकुप्मेन्ट बनाउने कम्पनी हेंगली इन्जिनेरिङको २ सय ५० करोडको लगानी समेत राज्य सरकारले स्थगन गरेको छ ।
उक्त ३ वटा प्रोजेक्टमा ५ हजार २० करोडको लगानी रोकिएको हो । यि महाराष्ट्र सरकारको ‘म्याग्नेटीक महाराष्ट्र २.०’ गत २०१५ को जुनमा आयोजना गरेको लगानी सम्मेलनमा साइन भएका १६ हजार ३० भारतीय रुपैयाँका बराबरका १२ वटा एमओयू मध्यको प्रोजेक्ट हो ।

