एम्पियर ब्राण्डको इलेक्ट्रीक स्कुटरको बुकिङ सुरु, कति पर्ला मूल्य

काठमाडौं । ग्रिभ्स कटन लिमिटेडको इलेक्ट्रीक स्कुटर ब्रान्ड एम्पियर लकडाउन सकिएपछि नेपाल आउने भएको छ । भारतीय बजारमा २० प्रतिशतभन्दा बढी मार्केट शेयर रहेको एम्पियर इलेक्ट्रीकलाई डीएसएम ग्लोबलले नेपाल ल्याउन लागेको हो ।

‘नेपालका लागि एम्पियरको डिलर नियुक्त हुन पाउँदा हामी खुसी छौं,’ डीएसएम ग्लोबलका प्रबन्ध निर्देशक देवस्वरुप महर्जनले भने ।

‘हामीलाई विश्वास छ, विद्युतीय सवारीसाधनमा ग्रिभ्स कटनले हासिल गरेको दक्षता र अनुभवबाट हामी वातावरणमैत्री र दीर्घकालीन परिवहनको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउन सक्नेछौं’, महर्जनको दाबी छ ।

‘नेपाल सरकारले अहिले ‘न्यु एन्ड क्लिन इनर्जी भेहिकल’लाई प्रोत्साहन दिने नीति लिएको छ । तसर्थ ग्रिभ्स कटन र हामीबीचको साझेदारी ग्राहक र वातावरण दुवैका लागि फाइदाजनक हुने भन्दै उनले भने ‘हामी पनि नेपाल सरकारले जारी गरेको निर्देशनको पालना गरिरहेका छौं र लकडाउन हटेपछि मात्र स्कुटरको डेलिभरी थाल्नेछौं । यद्यपी हामी अहिले नै अनलाइन बुकिङ लिन थालिसकेका छौं ।’

कोभिडपछि छोटो यात्राका लागि इलेक्ट्रीक स्कुटरहरुको प्रयोग बढ्ने अपेक्षा पनि उनले गरेका छन् । यी स्कुटरमा इन्धन र मर्मत खर्च नगन्य हुने भएकाले इलेक्ट्रीक स्कुटरको लोकप्रियता उच्च हुने अनुमान गर्न सकिन्छ । पेट्रोल पम्पहरुमा भीडभाड गरी लाइन बस्न नपर्ने, पैसाको आदान प्रदान हुने र सामाजिक दूरी पनि कायम हुने भएकाले इलेक्ट्रीक स्कुटर बढी सुरक्षित हुनेछन् ।

एम्पियर इलेक्ट्रीक भारतमा तीव्र गतिमा विस्तार भइरहेको इभी ब्रान्ड हो जसले पारम्परिक पेट्रोल स्कुटरको तुलनामा ८५ देखि ९० प्रतिशतसम्म खर्च बचाउँछ । सार्वजनिक भएको छोटो समयमै भारतमा ५० हजारभन्दा बढी एम्पियर इलेक्ट्रिक स्कुटर विक्री भइसकेका छन् भने दुई सयभन्दा बढी आउटलेट स्थापना भइसकेको छ ।

सन् २००८ मा पहिलो पटक भारतमा सार्वजनिक भएको एम्पियर इलेक्ट्रिकलाई गत वर्ष ग्रिभ्स कटन लिमिटेडले खरिद गरेको थियो । डीएसएम ग्लोबलले हाललाई रियो र जिल मोडेलका एम्पियर इस्कुटर नेपाल ल्याउने तयारी गरेको छ । यी दुवै लिथियम आयाेन ब्याट्री-पावर्ड छन् ।

एम्पियर जिल भारतमा निकै चर्चित हाई स्पिड मोडेल हो । यसको टप स्पिड ५५ किलोमिटर प्रति घन्टा र माइलेज ७५ किलोमिटर रहेको छ । यसमा डिजिटल डिस्प्ले, पोर्टेबल ब्याट्री प्याक जस्ता फिचर छन् । यसमा ६० भोल्ट पर ३० एम्पियर आवर क्षमता भएको लिथियम आयन ब्याट्री र १२०० वाट को मोटर जडान गरिएको छ ।

एम्पियर रियो इन्ट्रि-लेभल स्कुटर हो । यसको टप स्पिड २५ किलोमिटर प्रति घन्टा र माइलेज ५५ देखि ६५ किलोमिटर रहेको छ । ४८ भोल्ट पर २४ एम्पियर आवर क्षमता भएको लिथियम आयन ब्याट्री र २५० वाटको मोटर रहेको छ ।

यी स्कुटरको मूल्य १ लाख ५० हजारदेखि २ लाख ८० हजारसम्म पर्ने कम्पनी स्रोतले जानकारी दिएको छ । यद्यपी मोडल अनुसारको मूल्य भने घोषण भएको छैन ।


Back_to_top