काठमाडौं । किया मोटर्सले चर्चित इलेक्ट्रीक एसयूभी निरोलाई कम क्षमताको व्याट्री र १०० किलोवाट क्षमताको मोटरमा ल्याएको छ । कम्पनीले बेलायती बजारबाट यसको बिक्री सुरु गरेको हो ।
यसअघि किया निरोमा ६४ किलोवाट आवरको व्याट्री उपलब्ध रहेको थियो । अबभने कम्पनीले ३९ किलोवाट आवरको व्याट्रीको साथ निरोलाई बजारमा उतारेको छ ।
नेपाली बजारमा बिक्री गर्दै आएको किया निरोमा १५० किलोवाटको मोटर प्रयोग गरिएको थियो । नेपाल सरकारले इलेक्ट्रीक कारको अन्तःशुल्क तहगत आधारमा लगाएकोले नयाँ निरो ४० प्रतिशत अन्तःशुल्कमा नेपाल आउने छ । यसअघि बिक्री हुँदै आएको निरोमा भने ५० प्रतिशत अन्तःशुल्क लाग्ने छ ।
लिथियम आयोन व्याट्री प्याकको साथ आएको नयाँ निरोले १३४ बीएच पावर र ३९५ एनएम टर्क प्रदान गर्ने छ । यसको उच्चगति १५५ किलोमिटर प्रतिघण्टा रहने छ ।
७.२ किलोवाटको वोर्ड चार्जरको साथ आएको नयाँ निरोले एक पटकको फुल चार्जमा २८९ किलोमिटर रेञ्ज प्रदान गर्ने डब्ल्यूएलटीपीले सर्टिफाई गरेको छ । यसलाई डिसी फास्ट चार्जरबाट चार्जगर्दा ५४ मिनेटमा ८० प्रतिशत चार्ज हुने कम्पनीले जनाएको छ ।

