काठमाडौं । नेपालमा कार किन्न धेरै मूल्य तिर्नु पर्ने हुन्छ । मुख्यत सरकारले लगाउँदै आएको भन्सार, अन्तःशुल्क, भ्याट, सडक निर्माण दस्तुर, उच्च वार्षिक कर, पेट्रोलियम पदार्थमा लगाईको ७० प्रतिशतसम्मको कर जस्ता कारण सामान्य आय भएका मानिसले कारको विषयमा सोच्न समेत सक्दैनन् ।
यद्यपी मोटरसाइकलको प्रयोगबाट आफ्नो काम गर्दै आएका मानिसले आफ्नो आम्दानी केही बढेपछि भने सानो कारमा आँखा लगाउने गरेका छन् । यस्तोमा सामान्य कार किन्न चाहने मानिसलाई मध्यनजर गर्दै बिक्रेता कम्पनीहरुले कार उपलब्ध गराउँदै आएका छन् ।
यस्तोमा मारुती सुजुकी, हुन्डाई, डाट्सन, रेनो र टाटाले बिक्री गर्दै आएका इन्ट्री लेवलका कारहरु मोटरसाइकल छाड्नेहरुको उपयुक्त रोजाइमा पर्न सक्छ ।

अहिले मारुती सुजुकीको सबैभन्दा कम मूल्यमा कार किन्न चाहने ग्राहकले १८ लाख ९९ हजार रुपैयाँ अल्टो खरिद गर्न सक्ने छन् । अल्टो मूल्यका हिसावले नेपालमा उपलब्ध सबैभन्दा सस्तो कार हो । अहिले सिजी मोटो कर्पले २० प्रतिशत डाउन पेमेन्टमा नै यो कार बिक्री गर्दै आएको छ । ७९७ सीसी क्षमताको अल्टो नेपाली सडकमा ट्याक्सी र निजी प्रयोगको लागि बिक्री हुँदै आएको छ ।

डाट्सनले नेपालमा बिक्री गर्दै आएको रेडी गो पनि सस्तो कारमा पर्छ । यसलाई कम्पनीले १९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको पायोनियर मोटो कर्पले अहिले अफर संचालन गरिरहेको छ । अफरमा किन्ने ग्राहकले यसको ६ महिनासम्म किस्ता तिर्नु पर्ने छैन भने नगद छुट र ३० प्रतिशत डाउन पेमेन्टमा यसलाई खरिद गर्न सक्ने छन् ।

रेनोको इन्ट्री लेवल कार क्वीड पनि मोटरसाइकल छाड्नेको रोजाईमा पर्न सक्छ । माइक्रो एसयूभी थिममा आएको यो मोडल पनि निकै सफल ह्याचव्याक हो । एड्भान्स अटोमोवाइलले बिक्री गर्दै आएको यो मोडलको सुरुवाती मूल्य २३ लाख ९० हजार रुपैयाँ रहेको छ । १.० लिटर इन्जिनमा उपलब्ध रहेको यो कार माइलेजको लागि समेत राम्रो मानिन्छ ।

हुन्डाई सेन्ट्रो साना कार खोज्नेको लागि अर्को उत्कृष्ट विकल्प रहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल्सले बिक्री वितरण गर्दै आएको सेन्ट्रोमा १.१ लिटर क्षमताको इन्जिन रहेको छ । सेन्ट्रोको मूल्य अहिले २३ लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री वितरण हुँदै आएको छ । यो २०२० मोडलको इन्ट्री लेवल भेरियन्टको मूल्य हो । कम्पनीले अहिले यसमा नगद छुट, एक वर्षसम्मको लागि मासिक किस्तामा ५० प्रतिशत छुट जस्ता अफर संचालन गरिरहेको छ । नेपाली सडकमा सर्वाधिक सफल मध्यको एक मोडल सेन्ट्रो मोटरसाइकल छाडेर कार किन्न खोज्नेलाई उत्तम विकल्प रहेको छ ।

त्यसैगरि टाटा टियागो अर्को कम मूल्यमा उत्कृष्ट फिचर रहेको कार हो । १.२ लिटर इन्जिनमा आउने टियागोको मूल्य २४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको छ । अहिले यो मोडल किन्न चाहने ग्राहकले २ लाख ५० हजार नगद छुट पाउने कम्पनीले जनाएको छ ।

