काठमाडौं । सहरी क्षेत्रको लागि उपयुक्त मानिने अटोमेटिक कार पछिल्ला दिनमा धेरैको रोजाइमा पर्न थालेको छ । विशेषत चलाउन सजिलो भएकै कारण धेरै मानिसको रोजाइमा अटोमेटिक कारहरु पर्ने गरेका छन् ।
अटोमेटिक कार मूल्यका हिसावले पनि म्यानुयलको तुलनामा महंगो हुने गर्छ । तर, एएमटी (अटोमेटेड म्यानुयल ट्रान्समिसन) युक्त कारहरु एटी (अटोमेटिक ट्रान्समिसन) को तुलनामा सस्तो हुने गरेका छन् । यहाँ हामीले उल्लेख गरेका सबै कारमा एएमटी गियरबक्स दिइएको छ ।
अहिले बजारमा उपलब्ध विभिन्न कम्पनीका एएमटी कारहरुको मूल्य म्यानुयल कारको जस्तै रहने गरेको छ । जसले अटोमेटिक कारको चाहना राख्ने ग्राहकलाई कम मूल्यमा सन्तुष्ट बनाउन सक्छ ।
नेपालमा बिक्री हुँदै आएका कार मध्य सबैभन्दा कम मूल्यमा रेनो क्वीड, हुन्डाई सेन्ट्रो र सुजुकी सेलेरियो एक्सलाई अटोमेटेड म्यानुयल ट्रान्समिसन (एएमटी) भेरियन्ट खरिद गर्न सकिन्छ ।

अहिले बजारमा बिक्री हुँदै आएका एएमटी कारमा सबैभन्दा कम मूल्यको कार हो रेनो क्वीड । रेनो क्वीड फेसलिफ्ट मोडल दशैंअघि मात्रै नेपालमा बिक्री सुरु भएको हो । कम्पनीले यसको मूल्य २६ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ । एड्भान्स अटोमोवाइलले बिक्री गर्दै आएको रेनो क्वीडमा १.० लिटर थ्रि सिलिण्डर इन्जिन उपलब्ध रहेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा बिक्री गर्दै आएको सेन्ट्रो मग्ना एएमटीको मूल्य २९ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसमा १०८६ सीसी क्षमताको फोर सिलिण्डर इन्जिन दिइएको छ ।

त्यसैगरि सिजी मोटो कर्पले बिक्री वितरण गर्दै आएको सेलेरियो एक्सपनि एएमटी गिएरबक्समा उपलब्ध ह्याचव्याक कार हो । कम्पनीले यसको मूल्य ३२ लाख ७० हजार रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ । यसमा १.० लिटर थ्रि सिलिण्डर इन्जिन दिइएको छ ।

