स्टील र प्लाष्टिकको मूल्य वृद्धिपछि कार र माेटरसाइकलको मूल्य बढ्ने चिन्ता

काठमाडौं । विश्व अर्थतन्त्र कोभिड १९ को संक्रमणले थलिएको अवस्थाबाट पुर्नजागरित हुने चरणमा लागेसँगै विश्व बजारमा निर्माण सामाग्री र प्लाष्टिकजन्य उत्पादनको मूल्यमा व्यापक वृद्धि भएको छ । यसको असर संसारभरका अटो उत्पादकमा पनि पर्न थालेको छ ।

भारतीय बजारमा उत्पादन हुने सवारी साधन नेपालमा विक्री हुने गरेका छन् । यस्तोमा स्टील र प्लास्टीकजन्य बस्तुको मूल्यवृद्धिको चाप सवारी साधनमा पनि पर्ने देखिन थालेको छ ।

भारतले नयाँ प्रदुषण मापदण्ड लागु गरेर उत्पादन सुरु गरेका बीएस ६ मापदण्डको इन्जिन प्रयोग भएका कारण नेपालमा पहिलेभन्दा कारको मूल्य बढेर आउन थालेका छन् । यस्तो गाडी बनाउन प्रयोग हुने स्टील र प्लाष्टिकका सामानको मूल्य वृद्धिले थप महंगो हुने अवस्था सृजना हुँदै गएको देखिन्छ ।

कोटक इन्टिच्यूट सेक्युरिटीजका अनुसार स्टीलको योगदान दुई पाङ्ग्रे सवारीमा ७ प्रतिशत, प्यासेन्जर कारमा १० प्रतिशत तथा मिडियम तथा हेभी भेहिकलहरुमा १६ प्रतिशत रहने गरेको छ । जस अनुसार स्टीलको मूल्यमा भएको १० प्रतिशतसम्मको मूल्य वृद्धिले दुई पाङ्ग्रेमा ०.६ प्रतिशत, प्यासेन्जर कारमा १ प्रतिशत तथा मिडियम तथा हेभी भेहिकलहरुमा १.६ प्रतिशतसम्मले मूल्य वृद्धि हुने जनाएको छ ।

तर, कतिपय अटो कम्पनीहरुले स्टीलको मूल्यमा भएको मूल्य वृद्धिले अन्तिम मूल्यमा खासै प्रभाव नपर्ने जनाएका छन् । मारुती सुजुकीका अनुसार उसले लामो कन्ट्रायाक गरेर स्टील लिइरहेकोले बजार मूल्यमा आएको परिवर्तनले उसका उत्पादनमा तत्काल मूल्यमा प्रभाव नपर्ने जनाएको छ ।

त्यसैगरि भारतमा टाटा र हुन्डाईले पनि आफ्नै स्टीलको प्रयोग गरेर गाडी उत्पादन गर्दै आएका छन् । उनिहरुको उत्पादनमा पनि तत्काल ठूलो असर नपर्ने जनाइएको छ ।


Back_to_top