काठमाडौं । भारतीय बजारमा उत्पादन हुने एसयूभीमा सब फोर मिटर सेग्मेन्टको दबदबा बढ्दै गएसँगै होन्डाले आफ्नो सब फोर मिटर क्रसओभरको स्थानमा नयाँ सब फोर मिटर एसयूभी ल्याउने तयारी सुरु गरेको छ । कम्पनीले ‘जेडआर–भी’ नामबाट ल्याउने एसयूभी सब फोर मिटर हुने अनुमान गरिएको हो ।
भारतमा अहिले विक्री भइरहेको डब्ल्यूआर–भीले राम्रो व्यापार गर्न नसकेसँगै कम्पनीले सब फोर मिटर एसयूभी ल्याउने तयारी सुरु गरेको हो । फोर्ड इकोस्पोर्टबाट सुरु भएको सब फोर मिटर एसयूभी सेग्मेन्टमा अहिले मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, किया सोनेट, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी ३००, निसान म्याग्नाइट जस्ता मोडल विक्री भइरहेका छन् । चाँडै रेनो किगर, फक्सवागन टाइगुन जस्ता मोडल बजारमा आउने क्रममा रहेका छन् ।

यस्तोमा होन्डाले आफ्नो सब फोर मिटर एसयूभी सन् २०२२ को पहिलो क्वाटरसम्ममा बजारमा ल्याउनेगरि काम गरिरहेको विभिन्न रिपोर्टहरुले दाबी गरेका छन् । संभवत यसलाई कम्पनीले सन् २०२२ को अटो एक्स्पोमा शोकेस गर्ने छ ।
कम्पनीले यसमा १.२ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिन अप्सन प्रदान गर्ने छ । यसमा रहेको १.२ लिटर इन्जिनले अधिकतम १०० पीएस पावर र २०० एनएम टर्क प्रदान गर्ने छ ।

