चर्चित ब्राण्डका १ लाख ८० हजारभन्दा कम मूल्यका ४ मोटरसाइकल

काठमाडौं । कम मूल्यमा १०० सीसी सेग्मेन्टका मोटरसाइकल खोज्ने ग्राहकलाई लक्षीत गर्दै होन्डा, बजाज र हिरोले आफ्ना मोटरसाइकल विक्री गर्दै आएका छन् । यी कम्पनीहरुले विक्री गर्ने सबैभन्दा कम मूल्यका मोटरसाइकलमा बजाज प्लाटिना, होन्डा नाभी र हिरो स्प्लेन्डर एचएफ डिलक्स र स्प्लेन्डर प्लस रहेका छन् ।

यी मोटरसाइकल नेपाली बजारमा १ लाख ८० हजारभन्दा कम मूल्यमा ग्राहकले किन्न सक्ने छन् । कम पावर क्षमताका यी मोटरसाइकलले उत्कृष्ट माइलेज प्रदान गर्ने छन् । विशेषत तराई क्षेत्रमा यस्ता मोटरसाइकलको विक्री राम्रो हुने गरेको देखिन्छ । यी मध्य होन्डा नाभीको विक्री भने सहरी क्षेत्र केन्द्रित रहेको छ ।

नेपालमा होन्डाले विक्री गर्दै आएको नाभी स्कुटर सेग्मेन्टमा राखेर विक्री गर्ने गरेको छ । तर यसको बनोट भने मिनि बाइकको जस्तै रहेको छ । स्कुटरको अधिकांश फिचर र मोटरसाइकलको लुक्समा रहेको नाभीको मूल्य १ लाख ५४ हजार ९०० रुपैयाँ रहेको छ । स्याकार ट्रेडिङले नेपालमा विक्री गर्ने होन्डाको सबैभन्दा सस्तो मोडल नाभी नै हो । यसमा १०९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७.८ बीएच पावर र ८.९६ एनएम टर्क प्रदान गर्छ ।

हिरोको आधिकारीक वितरक नेपाल जनरल मार्केटिङ (एनजीएम)ले नेपालमा विक्री गर्दै आएको एचएफ डिलक्स मोटरसाइकल आई थ्रि एस टेक्नोलोजीको कारण चर्चामा रहँदै आएको छ । कम संचालन लागत, उत्कृष्ट डिजाइन र कम मूल्यको कारण यो मोटरसाइकल सदाबहार चर्चामा छ । यसको मूल्य १ लाख ६७ हजार रुपैयाँ रहेको छ । कम्पनीले यसमा ९७.२ सीसी क्षमताको इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ८००० आरपीएममा ८.३६ पीएस पावर र ५००० आरपीएममा ८.०५ एनएम टर्क प्रदान गर्छ ।

त्यसैगरि हिरोले विक्री गर्दै आएको स्प्लेन्डर प्लसको मूल्य १ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ । कम्पनीले यसमा पनि ९७.२ सीसी क्षमताको इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ८००० आरपीएममा ८.३६ पीएस पावर र ५००० आरपीएममा ८.०५ एनएम टर्क प्रदान गर्छ ।

हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले विक्री गर्दै आएको बजाज प्लाटिना अर्को १ लाख ८० हजारभन्दा कम मूल्यमा किन्न सकिने मोटरसाइकल हो । उत्कृष्ट माइलेजको कारण पनि भारतमा धेरै विक्री हुने मोटरसाइकलको सूचीमा बजाज प्लाटिना पर्दै आएको छ ।

यसमा १०२ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८.०२ पीएस पावर र ८.०६ एनएम टर्क प्रदान गर्छ । यसको मूल्य १ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top