नेपालमा क्लासिक मोटरसाइकलः रोयल इन्फिल्ड र होन्डामा कडा टक्कर हुने

काठमाडौं । होन्डाले हाइनेस सिबी ३५० नेपाल ल्याउने घोषणा गरिसकेको छ । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङका चेयरम्यान सौरभ ज्योतिले सोसल मिडियामा होन्डा हाइनेस सिबी ३५० को फोटो सेयर गर्दै ‘कमिङ सुन इन नेपाल’ लेखेर यसको जानकारी दिएका हुन् ।

होन्डा हाइनेस सिबी ३५० नेपाल आउने भएसँगै विगत लामो समयदेखि क्लासिक सेग्मेन्टमा एकछत्र राज गरिरहेको रोयल इन्फिल्ड क्लासिक ३५० लाई कडा चुनौती होन्डाले पेश गर्ने अनुमान गरिएको छ । उसोत यहि सेग्मेन्टमा केहि महिनाअघि जावाले दुई मोडल प्रतिस्पर्धामा उतारिसकेको छ ।

यस्तोमा क्लासिक मोटरसाइकलको पारखीहरुलाई होन्डा हाइनेस सिबी ३५० राम्रो कि रोयल इन्फिल्ड क्लासिक ३५० राम्रो भन्ने दुविधा पर्न सक्छ । यस्तोमा हामीले यी दुई मोटरसाइकलमा देखिएको समान र फरक विशेषता यहाँ केलाउने प्रयास गरेका छौं ।

इन्जिनको कुरागर्दा यी दुबै मोटरसाइकलमा समान इन्जिन दिइएको छ । होन्डाले हाइनेस ३५० मा ३४८ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड, ओएचसी इन्जिन दिएको छ । उक्त इन्जिनले २०.८ बीएच पावर र ३० एनएम टर्क प्रदान गर्छ ।

रोयल इन्फिल्ड क्लासिक ३५० मा ३४६ सीसी क्षमताको इन्जिन उपलब्ध रहेको छ । धेरै ग्राहकको रोजाईमा पर्दै आएको क्लासिक ३५० मा पनि सिंगल सिलिण्डर, एयर कुल्ड इन्जिन नै दिइएको छ । उत्तः इन्जिनले अधिकतम १९ बीएच पावर र २८ एनएम टर्क प्रदान गर्छ । दुबै मोटरसाइकलमा समान ५ स्पीड गियरबक्स दिइएको छ ।

यी दुई बीचको तुलनामा होन्डा हाइनेस सिबी ३५० मा केही बढी पावर र टर्क प्रदान गर्ने इन्जिन रहेको छ ।

कम माइलेज दिने भएकाले यी मोटरसाइकलमा प्रदान गरिएको फ्यूल ट्याङ्कीको पनि निकै महत्व हुन्छ । रोयल इन्फिल्ड क्लासिकमा १३.५ लिटर क्षमता र होन्डा हाइनेसमा १५ लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ ।

मोटरसाइकलमा रहने अर्को महत्वपूर्ण फिचर सस्पेन्शन हो । दुबै मोटरसाइकलमा अगाडि टेलिस्कोपिक फर्क सस्पेन्शन दिइएको छ भने, पछाडि होन्डाले ट्वीन रियर शक र रोयल इन्फिल्डले ट्वीन ग्यास शक चार्ज्ड प्रिलोडेड सस्पेन्शन दिएको छ ।

सवारी साधनको महत्वपूर्ण सुरक्षा फिचर भनेकै ब्रेकिङ सिस्टम हो । दुबै मोटरसाइकलमा ट्वीन डिस्क दिइएको छ । तर, होन्डाले आफ्नो मोटरसाइकलमा केही ठूलो डिस्क ब्रेक दिएको छ । होन्डा हाइनेसमा अगाडि ३१० एमएम र पछाडि २४० एमएमको डिस्क ब्रेक दिइएको छ । यसमा कम्पनीले डबल च्यानल एबीएस दिएको छ ।

रोयल इन्फिल्ड क्लासिक ३५० को अगाडि २८० एमएम र पछाडि २४० एमएमको डिस्क ब्रेक उपलब्ध रहेको छ । यसमा कम्पनीले सिंगल च्यानल एबीएस दिएको छ ।

रोयल इन्फिल्ड क्लासिक ३५० नेपालमा सर्वाधिक बिक्री हुने क्लासिक र प्रिमियम मोटरसाइकल हो । यो निरन्तर नेपालमा बिक्री भइरहेको मोडल हो भने, होन्डा हाइनेस नेपाल आउने तयारीमा रहेको मोडल हो । यसको मूल्य नेपालमा कति कायम हुन्छ, त्यसैले यसको प्रतिस्पर्धा एकिन गर्न सकिन्छ ।

भारतमा पनि रोयल इन्फिल्ड क्लासिक ३५० को तुलनामा करिब ३० हजार महंगो मूल्यमा विक्री भइरहेको हाइनेस ३५० नेपालमा पनि रोयल इन्फिल्डको तुलनामा महंगो हुने निश्चित प्रायः रहेको छ ।


Back_to_top