काठमाडौं । रोटरी क्लब अफ बागमती र केजीएफ फाउन्डेसनको आयोजनामा आन्तरिक पर्यटन प्रवर्द्धन र क्यान्सर रोगबारे जनचेतना जगाउन दुई दिने मोटर र्याली आयोजना हुने भएको छ । आगामी शुक्रबार विहान पर्यटन बोर्डबाट सुरु हुने मोटर र्याली चितवन हुँदै पोखरा पुग्ने कार्यक्रम रहेको छ ।
माघ ३० गते शुक्रबार विहान ७ बजे काठमाडौंबाट र्याली सुरु हुनेछ । उक्त र्याली शुक्रबार चितवनको सौराह पुग्ने छ । त्यसैगरि, फागुन १ गते शनिवार विहान ९ बजे चितवनबाट पोखरातर्फ र्याली अगाडि बढ्ने आयोजकले जानकारी दिएका छन् ।
र्यालीको समापन पोखराको वाटरफ्रन्ट रिसोर्टमा हुने छ । समापन समारोहमा पहिलो, दोस्रो र तेस्रो हुने चालकलाई सर्टिफिकेट तथा विभिन्न पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएका छन् । उक्त मोटर र्यालीमा मिस नेपाल २०२० का विजयीहरु पनि सहभागी हुँदै छन् ।

देश दर्शनलाई विशेषरुपमा प्रमोट गर्नेगरि आयोजना हुन लागेको ‘दि अमेजिङ मोटर र्याली नेपालकै प्रमुख दुई पर्यटकीय गन्तव्यलाई जोड्नेगरि आयोजना गर्न लागिएको हो । यसले चितवन र पोखरामा हुने पर्यटन गतिविधिलाई सहयोग पुर्याउने आयोजकको अपेक्षा छ । साथै, बढ्दो क्यान्सरको जोखिम न्यूनिकरण गर्न जनचेता जगाउनु पनि यस र्यालीको मुख्य उद्देश्य रहेको छ ।
यस र्यालीमा हाइवे ड्राइभिङको सम्पूर्ण मापदण्ड पुरा गर्दै ट्राफिक नियमको पूर्णरुपमा पालना गरेर गतिले होइन, उत्कृष्ट र सुरक्षीत ड्राइभिङले जित हासिल गर्न सकिने छ । र्यालीमा ४० वटा कारको सहभागिता हुने छ ।


