मङ्गल ग्रहमा अमेरिकी पर्सिभिअरन्स राेभर अवतरण, भाेलिबाट गुड्ने

अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिनापछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको छ। नेपाली समयानुसार शुक्रवार बिहान करिब २:४० बजे पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो।

सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले हर्षोल्लास मनाएका थिए ।  त्यसको केही समयमै रोभरले कैद गरेको तस्बिर सार्वजनिक गरिएको थियो।

सर्फेस मिसन म्यानेजर जेसीका स्याम्युएल्सका अनुसार अब सबभन्दा पहिला पर्सिभिअरन्सका सबै कुरा सञ्चालन गर्न सकिने अवस्थामा छरछैन भनेर हेरिने छ। उक्त रोभरले रातभर आफ्नो ब्याट्री चार्ज गर्ने छ।

यो सन् १९७०को दशकको भाइकीङ् मिसनपछि मङ्गल ग्रहमा जीवनको सम्भावनाबारे अध्ययन गर्ने नासाको सबैभन्दा महत्त्वाकाङ्क्षी परियोजना हो। एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ।

छवटा पाङ्ग्रा भएको उक्त रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहनजिक पुगेको हो। मङ्गल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नुलाई यो मिशनको सबैभन्दा कठिन चुनौतीका रूपमा हेरिएको थियो।

हेलिकप्टरबाट पनि अध्ययन

पर्सिभिअरन्समा राखिएको इन्जेन्युइटी नाम दिइएको हेलिकप्टरलाई भोलिबाट चलाइने वरिष्ठ वैज्ञानिक तथा हेलिकप्टर परियोजनाकी संयोजक मीमी अङ्गले बताइन। आगामी ३० दिनमा पाँच वटा उडान भर्ने मिशन तय गरिएको र त्यसले सम्भवतः मङ्गल ग्रहको सतहको उच्च गुणस्तरको तस्बिर उपलब्ध गराउने ठानिएको छ।

एउटा ग्रहमा बसेर अर्कोमा उडान गरिने यो पहिलो फ्लाइट हो। अर्बौँ वर्ष अघि मङ्गल ग्रहको जेजेरो भनिने स्थानमा एउटा ताल रहेको र त्यसले जीवहरूलाई बाँच्न सहयोग गरेको हुन सक्ने ठानिएको छ।

पर्सिभिअरन्स रोभर जेजेरो क्रेटरमा नै अवतरण गरेको हो। हालसम्म मङ्गल ग्रहमा १४ मिशनले अवतरण गर्ने प्रयास गरेकोमा आठ प्रयास सफल भएका छन्। ती सबै अमेरिकी अभियान हुन्।

अमेरिकी प्रयास एकपटक मात्रै सन् १९९९ मा विफल भएको थियाे।


Back_to_top