नेपाल आयो हिरोको बहुप्रतिक्षित एक्स्ट्रीम १६० आर, यस्तो छ मूल्य

काठमाडौं । हिरोको पछिल्लो उत्पादन एक्स्ट्रीम १६० आर नेपाल आएको छ । हिरोको आधिकारीक वितरक नेपाल जनरल मार्केटिङले नेपाल ल्याएको एक्स्ट्रीम १६० आर बहुप्रतिक्षित मोटरसाइकलको रुपमा रहेको थियो ।

भारतीय बजारमा जुन १, २०२० बाट विक्री सुरु भएको एक्स्ट्रीम १६० आर निकै राम्रो व्यापार गर्न सफल भइरको छ । यस्तोमा यो मोटरसाइकलले नेपालमा कस्तो व्यापार गर्छ त्यो भने हेर्न बाँकी नै रहेको छ । कम्पनीले नेपालमा यसको आधिकारीक विक्री केहि दिन भित्रै सुरु गर्ने तयारी गरिरहेको जनाएको छ ।

४ महिना अघिबाटै नेपालको विभिन्न क्षेत्रमा परिक्षण भएको एक्स्ट्रीम १६० आर सेग्मेन्टमा नै धेरै फिचर भएको मोटरसाइकलको रुपमा परिचित रहेको छ ।

हिरो मोटरसाइकलले ल्याएको नयाँ एक्स्ट्रीम १६० आर यो सेग्मेन्टकै सर्वाधिक छिटो कुद्ने मोटरसाइकल हो । यसले ० देखि ६० किलोमिटरको स्पीड भेट्टाउन केवल ४.७ सेकेन्ड मात्र समय लगाउने छ ।

कम्पनीले यसमा दिएको १६० सीसी एफआई इन्जिनले ८५०० आरपीएममा १५.२ बीएच पावर र ६५०० आरपीएममा १४ एनएम टर्क प्रदान गर्नेछ । यसमा कम्पनीले अटो शेल टेक्नोलोजी प्रयोग गरेको जनाएको छ । साथै, बीएस ६ मापदण्डको इन्जिनमा नेपाल आएको मुख्य कम्पनीको कम मूल्यको पहिलो मोटरसाइकल पनि एक्स्ट्रीम १६० आर हुने भएको छ ।

हिरो एक्स्ट्रीम आरमा नयाँ डायमण्ड टाइप सिंगल डाउन ट्युव फ्रेम दिइएको छ । यसमा अगाडि ३७ एमएमको फर्क र पछाडि ७ स्टेप एड्जस्टेवल मोनोशक दिइएको छ । साथै, दुबै चक्कामा पेटल टाइप डिस्क ब्रेक दिइएको छ भने सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

हिरोले आफ्नो एक्स्ट्रीम २०० आरको तुलनामा एक्स्ट्रीम १६० आर नयाँ मोडलमा अब्बल फिचरहरु उपलब्ध गराएको छ । कम्पनीले यसमा सबै किसिमका लाइट एलइडी प्रयोग गरेको छ भने यसमा पूर्णत डिजिटल डिस्प्लेको प्रयोग गरेको छ ।

हिरोको नयाँ मोटरसाइकलको सिधा प्रतिस्पर्धा यामाहा एफजेडएस भी थ्री, सुजुकी जिक्सर १५० र टीभीएस आरटीआर १६० फोर भीसँग हुनेछ । तर, बीएस ६ इन्जिनको कारण हिरोले यो दौडमा आफुलाई स्थापित गर्नु पर्ने चुनौति थपिएको छ । जसको कारण अन्यको तुलनामा यसको मूल्य करिब १० हजार रुपैयाँ बढी रहेको छ । यसलाई एनजीएमले ३ लाख ३९ हजार मूल्य निर्धारण गरेर विक्री सुरु गर्दैछ ।


Back_to_top