काठमाडौं । फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले कम मूल्यको इलेक्ट्रीक कार बजारमा ल्याउने तयारी गरिरहेको रिपोर्टहरु सार्वजनिक भएका छन् । कम्पनीले भारतमा नै उत्पादन गर्ने उक्त इलेक्ट्रीक कार सब फोर मिटर एसयूभीको इलेक्ट्रीक भर्सन हुने अनुमान गरिएको छ ।
सिट्रोनले उक्त इलेक्ट्रीक एसयूभी आफ्नो इ–सिएमपी प्ल्याटफर्ममा तयार गर्ने अनुमान गरिएको छ । यसलाई कम्पनीले डोङफेङ मोटरसँगको सहकार्यमा तयार गरिरहेको छ । इ–सिएमपी प्ल्याटफर्ममा ल्याउने उक्त एसयूभीको यूरोपियन स्पेकमा १०० किलोवाटको मोटर र ५० किलोवाट आवरको लिथियम आयोन व्याट्री प्याक रहने अनुमान गरिएको छ ।
तर, भारतमा मूल्य कम गर्न कम्पनीले ३० किलोवाट आवरको व्याट्री दिन सक्ने जनाइएको छ । यसको अधिकतम रेञ्ज ३०० किलोमिटरसम्म हुने छ । यसको सिधाा प्रतिस्पर्धा टाटा नेक्सन इलेक्ट्रीकसँग हुने छ । कम्पनीले यसलाई नेक्सनभन्दा कम मूल्यमा बजारमा ल्याउने अनुमान गरिएको छ ।
सिट्रोनका गाडी नेपाली बजारमा पनि आउने तयारी भइरहेको छ । साँग्रिला मोटर्सले सिट्रोन नेपाल ल्याउन लागेको हो ।


