काठमाडौं । कोभिड १९ को दोस्रो लहरसँगै भारत विश्वकै सर्वाधिक दैनिक संक्रमित भेटिने देश बनेको छ । कोभिडको समस्याले विकारालरुप ग्रहण गरेसँगै सबै उद्योगधन्दा संचालनमा समस्या सृजना भएको हो ।
अहिले भारतमा गाडी उत्पादन गर्ने कम्पनीले आफ्नो क्षमताको २५ देखि ३० प्रतिशतसम्म मात्रै उत्पादन गर्न सकिरहेका छन् । यसले गाडीको सप्लाईमा समस्या सृजना भइसकेको छ । यसले आफ्नो आवस्यकता अनुसारको नयाँ सवारी साधन किन्न चाहनेलाई केहि समस्या सृजना हुने भएको हो ।
‘नेपालमा अहिले सबै किसिमका सवारी साधनको आयात मागको तुलनामा कम रहेको छ । नयाँ गाडी किन्न चाहनेले केहि समय कुर्नु पर्ने अवस्था आउन सक्छ’, एक कार विक्रेता कम्पनीका जनरल मेनेजरले भने ।
कारको मात्रै होइन मोटरसाइकलको पनि अभाव सुरु भएको छ । कोभिड १९ को कारण भएको लकडाउन खुल्लापछि मोटरसाइकलको माग उच्च बन्यो । नेपालमा भएका आफ्नो स्टक सकेका कम्पनीहरुले त्यसपछि नै बजार माग अनुसारको मोटरसाइकल ल्याउन सकिरहेका छैनन् ।
‘अहिले आएका सबै मोटरसाइकल तत्कालै विक्री हुने अवस्था रहेको छ । एउटा कम्पनीले मुस्किलले २/३ महिनामा एक लट मोटरसाइकल ल्याउन सक्छन् । ल्याएको सबै विक्री हुन्छ’, एक मोटरसाइकल विक्रेता कम्पनीका जनरल मेनेजरले भने ।
कोभिडको कारण समग्रा आयातको प्रक्रियालाई असर गरिरहेको छ । यसले नेपालमा नयाँ कार र मोटरसाइकलको आयात र विक्रीमा नराम्रो असर पार्ने देखिएको छ ।
अघिल्लो वर्ष यहि समयमा लकडाउनको कारण मारमा परेका व्यवसायी यो वर्ष विक्री गर्ने साधन नपाउँदा समस्या परेको बताउँछन् भने अहिले ऋण नै गरेर भएपनि सानो आफ्नै साधन किनौ भन्ने ग्राहकले पैसा जम्मा गर्दा पनि आफ्नो चाहना अनुसारको नयाँ गाडी किन्न सक्ने अवस्थामा छैनन् ।


