पुरानो गाडीमा ७ लाख खर्च गरे नयाँ इलेक्ट्रीक कार बन्ने

काठमाडौं । विश्वभर जलवायू परिवर्तनको विषय खुब चर्चामा छ भने वातावरणिय प्रभावका कारण जोखिम उच्च बन्दै गएको छ । काठमाडौंमा पनि वातावरण प्रदुषणको प्रभाव कति थियो भन्ने विषय यहाँ उल्लेख गर्नु परेन ।

चैतको अन्तिम दुई साता काठमाडौं विश्वकै प्रदुषित सहरको पहिलो स्थानमा पर्यो । यसले हामीलाई कार्वन उत्सर्जन रोक्न धेरै मिहिनेत गर्नु पर्ने देखाएको छ । विज्ञहरुको कुरा मान्ने हो भने काठमाडौंमा हुने प्रदुषणको सबैभन्दा ठूलो हिस्सा सवारी साधनकाे रहेको छ ।

सरकारले सार्वजनिक सवारी साधनको रुपमा प्रयोगमा आएका गाडीलाई २० वर्षपछि उपत्यकामा चलाउन रोक लगाएको भएपनि यस्ता साधन सरकारको ‘स्क्र्याप पोलिसी’को अभावमा अझै सडकमा गुडिरहेका छन् । सरकारले निजी सवारी साधनको हकमा आयू नै तोकेको छैन । बरु २० वर्षपछि धेरै कर उठाउने लोभमा यस्ता साधनलाई चल्न प्रेरित गरिरहेको छ ।

अहिले देखिएको काठमाडौंको प्रदुषण अब हरेक वर्ष हाम्रो नियति बन्ने प्रस्टै छ त्यसैले सरकारले २० वर्ष पुराना सवारी साधन चलाउने हो भने त्यसलाई इलेक्ट्रीकमा परिवर्तन गर्न दिनु पर्छ । त्यसको लागि विशेष ऐनको व्यवस्था गर्नु पर्छ ।

नेपालमा मारुती सुजुकीले विक्री गरेका धेरै पुराना ट्याक्सीहरु पनि संचालनमा रहेका छन् । टोयोटाले उत्पादन गरेका धेरै हायस माइक्रो २० वर्ष पुरा गरेका छन् । ती साधनलाई विद्युतीय गाडीमा परिवर्तन गर्ने हो भने अझै १० वर्ष राम्रोसँग संचालन गर्न सकिन्छ । यतातर्फ सरकारको ध्यान जान जरुरी छ ।

उसोत नेपालमा मारुती ८०० को अलावा डाइहात्सु कोर, डेयू मार्टिज, सेभ्रोले स्पार्क, टोयोटा कोरोला, निसान सन्नी जस्ता पुराना कारहरु थुप्रै भेटिन्छन् । यी कारलाई इलेक्ट्रीकमा सजिलै कन्भर्ट गर्न सकिन्छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटबाट पुराना कारलाई इलेक्ट्रीकमा कन्भर्ट गर्न आवश्यक पाटर्सहरुको आयातमा सून्यदेखि १ प्रतिशत मात्रै भन्सार लिने व्यवस्था गरेको छ । त्यसैले यस्ता पाटर्सहरु ल्याउँदा धेरै राजश्व तिर्नु पर्ने छैन । यसअघि यस्ता पार्टशमा ५ प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लाग्दै आएको थियो ।

अहिले नेपालमा पुराना कारलाई इलेक्ट्रीकमा कन्भर्ट गर्न विभिन्न क्षेत्रमा इन्जिनियरहरुले काम गरिरहेका छन् । उनिहरुले यसमा केही सफलता समेत प्राप्त गरेका छ ।

‘लाखौं रुपैयाँ खर्चेर ल्याएका गाडी २० वर्षपछि त्यसै फ्याक्ने गरिएको छ । यसलाई इलेक्ट्रीकमा रुपान्तरण गरेको खण्डमा अर्को १० वर्ष विना प्रदुषण चलाउन सकिन्छ’, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले भने ।

नेपालमा पुराना गाडी हजारौंको संख्यामा रहेको र त्यसलाई इलेक्ट्रीकमा रुपान्तरण गर्दा नयाँ गाडी किन्नु नपर्ने र वातावरण मैत्री पनि हुने देखेकाले आफुहरु यो अभियानमा जुटेको पुनको भनाई छ ।

के के चाहिन्छ सामान ?

यसरी पुराना कारलाई इलेक्ट्रीकमा परिमार्जन गर्न चाहिने मुख्य सामाग्री मोटर, व्याट्री र विभिन्न वायरहरु हुन् । गाडीको अन्य पार्टसमा खासै ठूलो परिमार्जनको आवश्यकता पर्दैन ।

सामान्यतया यस्ता कारलाई इलेक्ट्रीकमा कन्भर्रट गर्दा १३ देखि २५ किलोवाट आवरको व्याट्री प्रयोग गर्नु पर्ने हुन्छ । यसरी प्रयोग गरिने व्याट्रीलाई अगाडि इन्जिन भएको स्थानमा राख्न सकिन्छ । विद्युतीय गाडीमा इन्जिनको आवश्यकता नपर्ने भएकाले उक्त स्थान खाली गरेर व्याट्रीका सेल सुरक्षित तरिकाले राख्न सकिन्छ ।

साना मारुती ८०० साइजका कारमा २० किलोवाट क्षमताको मोटर नै उपयुक्त हुने इन्जिनियरहरु बताउँछन् । हलुका र सानो साइजका कारमा दिइने १३ किलोवाट आवरको व्याट्रीले एक पटकको फुल चार्जमा १०० किलोमिटर भन्दा बढी रेञ्ज दिने इन्जिनियरहरुको भनाई छ ।

ड्यासबोर्डलाई आधुनिक बनाउन सकिन्छ

यस्ता पुराना कारलाई इलेक्ट्रीकमा परिमार्जन गरेसँगै ड्यासबोड, ह्वील, सिट लगायत परिमार्जन गरेर आधुनिक बनाउन सकिन्छ । अहिले कारमा हुने इन्फोटेन्टमेन्ट सिस्टम, रिभर्स क्यामेरा लगायतका फिचरहरु यी पुराना मोडलका कारमा सजिलै हाल्न सकिन्छ ।

लागत

अहिले अन्तर्राष्ट्रिय बजारमा व्याट्रीको मूल्य प्रति किलोवाट व्याट्रीको मूल्य २०० डलरसम्म रहेको छ । अधिकतम मूल्य २०० डलरको हिसावले ल्याउदा पनि १३ किलोवाट आवरको व्याट्रीको खर्च २ लाख ८० हजार रुपैयाँ पर्छ ।

त्यसवाहेक मोटर, वायर लगायतका अन्य पार्टस आयात र यहाँ बनाउने खर्च ४ लाख ५० हजार लगाउने हो भने उत्कृष्ट इलेक्ट्रीक कार बन्ने छ ।

सुरक्षा परिक्षण

यसरी बनाइएका गाडी कत्तिको सुरक्षीत छन् भन्ने विषय पनि प्राथमिकतामा पर्नु पर्छ । त्यसको लागि सरकारले भेहिकल फिटनेश सेन्टरहरुलाई चुस्त बनाउनु पर्छ । सुविधा सम्पन्न मेसिनहरुको प्रयोगले यसको सुरक्षा मापन गर्न सकिन्छ । त्यसको लागि सरकारको इच्छाशक्ति भने चाहिन्छ ।


Back_to_top