टेस्लाले भारतमा प्लान्ट खोल्ने पक्का, धमाधम कर्मचारी नियुक्ती गर्दै

काठमाडौं । अमेरिकी लग्जरी इलेक्ट्रीक भेहिकल निर्माता कम्पनी टेस्ला इंकले भारतमा आफ्नो प्लान्ट खोल्ने भएको छ । हालै मात्र टेस्लाले भारतको मुम्बईमा आफ्नो आधिकारीक कार्यालय खोल्ने कामलाई तिब्रता दिएको हो ।

टेस्लाले मुम्बाईको लोअर परेल वर्लीमा करिब ४० हजार स्क्वायर फिट क्षेत्रफलमा आफ्नो कार्यालय राख्न लागेको समाचार इटी अटोले उल्लेख गरेको छ ।

कम्पनीको कार्यालय मुम्बईमा भएपनि प्लान्ट भने बेंगलुरुमा दर्ता गरेको छ । कम्पनीले कर्नाटकमा आफ्नो उत्पादन प्लान्ट राख्ने तैयारी गरिरहेको छ । टेस्लाले टेस्ला इन्डिया नाममा नयाँ कम्पनी दर्ता गरेको हो ।

कम्पनी दर्तासँगै भारतका लागि टप मेनेजमेन्ट समेत छनौट गर्न थालिएको छ । टेस्ला इन्डियाको पोलीसी तथा विजनेस डेभलभमेन्ट प्रमुखको रुपमा काम गर्नेगरि मनुज खुरानालाई नियुक्ति गरेको छ । साथै, भारतमा चार्जीङ स्टेसन निर्माण र विस्तार गर्नका लागि निशांत प्रसादलाई चार्जीङ म्यानेजर नियुक्ती गरेको छ । प्रसादले यसअघि अथर इनर्जीको चार्जीङ स्टेसन तथा इनर्जी स्टोरेजमा काम गरेका थिए । त्यस्तै कन्ट्री एचआर लीडरको रुपमा चित्रा थाँमस नियुक्त भएकी छिन्, उनि यसअघि वालमार्ट तथा रिलायन्समा काम गरेकी थिइन् ।

भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको बेलामा टेस्लाका अध्यक्ष इलन मस्कले टेस्लाको गिगा फ्याक्ट्री घुमाएका थिए । त्यहि बेलामा मोदीले टेस्लालाई भारतमा फ्याक्ट्री बनाउन आमन्त्रण गरेका थिए । तर, टेस्लाले चाइना तथा युरोपमा प्लान्ट विस्तारमा लागेकाले भारतको कार्य केहिपछि सुरु गर्ने जनाएको थियो ।

टेस्लाको चीन प्लान्टबाट उत्पादन सुरु भइसकेको छ ।


Back_to_top