कियाले भारतमा बनाउने तेस्रो मोडल एमपीभी, कार्निभलभन्दा सस्तो हुने

काठमाडौं । सन् २०१९ बाट भारतमा उत्पादन सुरु गरेको कोरियन कार निर्माता कम्पनी कियाले आफ्नो तेस्रो मोडलको बारेमा जानकारी दिएको छ । कम्प्याक्ट एसयूभी सेल्टोस र सब फोर मिटर एसयूभी सोनेटपछि कियाले भारतमा ७ सिट क्षमताको एमपीभी उत्पादन गर्ने भएको हो ।

किया इन्डियाले उत्पादन कोण नेम ‘केवाई’ राखेर नयाँ मोडलको उत्पादनमा काम गरिरहेको जनाएको छ ।

किया इन्डियाका भाइस प्रेसिडेन्ट सेल्स एण्ड मार्केटिङ हरदिप सिंह बरारले ७ सिट क्षमताको सेग्मेन्टमा नयाँ गाडी ल्याउने तयारी भइरहेको जानकारी दिएका हुन् ।

‘ठूलो परिवार हुने ग्राहकलाई लक्षित गर्दै हामीले ७ सिट क्षमताको गाडी बजारमा ल्याउने तयारीका साथ काम गरिरहेका छौं । हामीलाई विश्वास छ अघिल्ला दुई मोडल जस्तै नयाँ मोडल पनि सफल हुने छ’, बरारले भने ।

निकै लग्जरी फिचरको साथ बजारमा आउने अनुमान गरिएको कियाको नयाँ एमपीभीले बजारमा सुजुकी आर्टिगा, टोयोटा इनोभा, महिन्द्रा मराजो जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ । यसको मूल्य किया कार्निभलभन्दा सस्तो हुने छ ।

आधुनिक फिचरले भरिएको हुने नयाँ एमपीभीमा १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिन हुन सक्ने अनुमान गरिएको छ । यसको विषयमा कम्पनीले कुनै आधिकारीक जानकारी दिएको छैन । सन् २०२२ को पहिलो क्वाटरमा नै यो एमपीभी बजारमा आउने छ ।


Back_to_top