काठमाडौं । विश्वकै सबैभन्दा ठूलो मध्येको एक इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर नेपाली बजारमा आएको छ । कुजु नेपाल प्रालिले याडियाका स्कुटर नेपाल ल्याएको हो ।
यसअघि याडियाको इलेक्ट्रीक साइकल नेपाल ल्याएर विक्री सुरु गरेको कुजु नेपालले अबभने इलेक्ट्रीक स्कुटर नेपाल ल्याएको हो । कम्पनीले ल्याएको इलेक्ट्रीक स्कुटरको आधिकारीक विक्री भने सुरु गर्न पाएको छैन ।
अहिले याडियाको ‘जी फाइभ र सि वान एस’ दुई मोडल नेपाल आइपुगेको कम्पनीले जानकारी दिएको छ । कोभिड संक्रमण बढ्दै गएसँगै पुनः आज बैशाख १६ गतेबाट लकडाउन सुरु भएकाले तत्काल आधिकारीक कार्यक्रम आयोजना गरेर स्कुटर सार्वजनिक गर्न भने नपाएको कम्पनीले जानकारी दिएको छ ।
‘लकडाउन सकिएपछि यसको आधिकारीक विक्री सुरु गर्ने छौं । अहिले शोरुममा भने स्कुटर उपलब्ध रहेको छ’, कुजु नेपालका संचालक उमिद श्रेष्ठले मेरोअटोसँग भने ।
कम्पनीले नेपाल ल्याएको जी फाइभ स्कुटरमा जिटीआर ३.० ब्रोडव्याण्ड मोटर प्रयोग गरिएको छ । उक्त मोटरले अधिकतम २३०० वाट पावर प्रदान गर्छ । यो स्कुटरको टप स्पीड ६० किलोमिटर प्रतिघन्टा रहेको छ ।
पानाशोनिकको लिथियम आयोन व्याट्री प्रयोग भएको यो स्कुटरलाई एक पटकको फुल चार्जमा ६० देखि ८० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले जनाएको छ । यसलाई घरायसी बिजुलीमा चर्जगर्दा ६ घन्टामा फुल चार्ज गर्न सकिन्छ । जी फाइभ स्कुटरको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ ।
कम्पनीले ल्याएको अर्को स्कुटर सि वान एसको पनि अधिकांश फिचर जी फाइभसँग मिल्दोजुल्दो रहेको छ । यसको मोटर, टप स्पीड, रेञ्ज, व्याट्री, चार्जिङ समय जी फाइभको जति नै रहेको छ । यसको अधिकतम पावर २२०० वाट रहेको छ ।
कम्पनीले स्कुटरको मूल्य २ लाख ३० हजारदेखि ३ लाख ५० हजारसम्म रहने जनाएको छ ।


