यामाहाले बनायाे १२५ सीसीको नयाँ मोटरसाइकल

काठमाडौं । यामाहाले १२५ सीसी क्षमताको नयाँ मोटरसाइकल एसएक्सआर १२५ सार्वजनिक गरेको छ । नियो-रेट्रो डिजाइनमा आएको एसएक्सआर १२५ लाई यामाहाले ग्लोवल प्रिमियर गरेको हो ।

यामाहाको चर्चित रेट्रो डिजाइनमा तयार भएको नयाँ मोटरसाइकल एसएक्सआर १५५ बाट प्रेरित रहेको छ । केही दिनअघि मात्रै एसएक्सआर १२५ को टाइप अप्रुभल बाहिर आएको थियो । टाइप अप्रुभल बाहिर आएसँगै नयाँ मोटरसाइकल बजारमा आउने तयारी भइरहेको विषय अन्तर्राष्ट्रिय मिडियाले प्राथमिकताको साथ छापेका थिए ।

नयाँ एसएक्सआरमा १२५ सीसी क्षमताको लिक्विड कुल्ड, सिंगल सिलिण्डर इन्जिन रहने छ । यामाहाको यो इन्जिन अहिले यामाहा आर १२५ र एमटी १२५ मा प्रयोग हुँदै आएको छ । उक्त इन्जिनले अधिकतम १० हजार आरपीएममा १४.९ पीएस पावर र ८ हजार आरपीएममा ११.५ एनएम टर्क प्रदान गर्नेछ ।

दुबै चक्कामा डिस्क ब्रेक दिएको यो मोटरसाइकल यामाहाको सिग्नेचर डेल्टा बक्स फ्रेममा निर्माण भएको हो । डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, सबै लाइट एलइडी, अगाडि अपसाइड डाउन फर्क, पछाडि मोनोशक सस्पेन्सन यसमा उपलब्ध रहेको छ ।

जुनको पहिलो हप्तामा यसको मूल्य निर्धारण गरेर विक्री सुरु गर्न लागिएको यामाहाले जनाएको छ ।


Back_to_top