काठमाडौं । कोरियन अटो जाइन्ट हुन्डाईले भारतमा सन् २०१५ को अन्त्यतिरबाट उत्पादन सुरु गरेको कम्प्याक्ट एसयूभी क्रेटा यो सेग्मेन्टमा नै सर्वाधिक विक्री भएको छ ।
सन् २०१६ मा नेपाल आएको क्रेटा नेपाली बजारमा करिब ८ हजार यूनिट विक्री भइसकेको छ । यसको सफलतालाई देखेर भारतमा निसानले किक्स, कियाले सेल्टोस र केही दिनपछि नै स्कोडाले कुशक र फक्सवागनले टाइगुन बजारमा ल्याउन लागेका छन् ।
यही सेग्मेन्टमा प्रतिस्पर्धा गर्न नयाँ अवतारमा महिन्द्रा एक्सयूभी ५००, टोयोटा र सुजुकीले पनि नयाँ एसयूभी बजारमा ल्याउने क्रममा रहेका छन् । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा क्रेटाको सफलताले फोर्डले पनि नयाँ एसयूभी ल्याउँदै छ ।
भारतमा उत्पादन भएको क्रेटाको तथ्यांक पनि निकै चाखलाग्दो रहेको छ । भारतीय बजारमा अहिलेसम्म हुन्डाईले ६ वर्षको दौरान ५ लाख ८० हजार यूनिट विक्री गरेको छ भने भारतमा उत्पादन भएर निर्यात भएको यूनिट पनि २ लाख पुरा भएको छ । समग्रमा हुन्डाईले भारतमा करिब ८ लाख यूनिट क्रेटा उत्पादन गरेको देखिन्छ ।
क्रेटा मूल्यका हिसावले सस्तो भएर बजारमा पकड जमाउन सफल मोडल पक्कै होइन । भारत जस्तो मूल्यकै आधारमा गाडी छनोट गर्ने देशमा क्रेटाले पाएको सफलताको पछाडि थुप्रै कारण रहेका छन् । तिनै कारण क्रेटा नेपालमा पनि सफल भएको मान्न सकिन्छ ।
लोभलाग्दो डिजाइन
क्रेटाको विक्रीमा सबैभन्दा ठूलो भूमिका यसको डिजाइनले खेलेको हो भन्दा गलत हुँदैन । हुन्डाईको पछिल्लो ग्लोवल डिजाइन थेममा तयार भएको क्रेटा साधारण तर, निकै आकर्षक रहेको छ ।

क्रेटामा प्रयोग भएको थ्रि आई प्रोजेक्टर हेडल्याम्प, आकर्षक ठूलो ग्रिल, एलइडी डे टाइम रनिङ लाइट, स्टाइलिस अलोय ह्वील, रुफरेल, ड्यूल कलर पेन्ट, एलइडी टेलल्याम्प जस्ता फिचरले यसको आकर्षणमा थप निखारता ल्याएको छ । नयाँ जेनेरेशन क्रेटामा आई पुग्दा यसको अगाडि र पछाडिको दुबै भागमा व्यापक परिमार्जन देख्न पाइएको छ ।
फरक फरक इन्जिन अप्सन
क्रेटाको सफलतामा यसमा रहेको इन्जिन अप्सन पनि हो । ग्राहकले आफ्नो अनुकलता र इच्छा अनुसारको नेचुरल एस्पायर्डमा डिजेल र पेट्रोल तथा टर्बो चार्ज्ड इन्जिन अप्सन पाउन सक्छन् । यसले पनि धेरैको ध्यान क्रेटाले खिच्न सफल भएको छ ।

नेपाली बजारमा भने क्रेटाको नेचुरल एस्पायर्ड इन्जिनमा पेट्रोल र डिजेल इन्जिनसहित क्रेटा उपलब्ध रहेको छ । यसमा रहेको १.४ लिटर टर्बो इन्जिन नेपाल आएको छैन । क्रेटामा रहेको पेट्रोल इन्जिनले ११५ पीएस पावर र १४४ एनएम टर्क प्रदान गर्छ भने डिजेल इन्जिनले अधिकतम ११५ पीएस पावर र २५० एनएम टर्क प्रदान गर्छ ।
सुविधाले भरिएको
क्रेटाको अर्को सवल पक्ष भनेको यसमा उपलब्ध फिचरहरु हुन् । क्रेटामा १०.२५ इन्चको टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम, बोसको ८ वटा प्रिमियम स्पीकर, हुन्डाईको व्ल्यू लिंक कनेक्टीभीटी, पानारोमिक सनरुफ, भ्यान्टिलेटेड फ्रन्ट सिट, इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने ड्राइभर सिट, ७ इन्चको टिएफटी कलर इन्ट्रुमेन्ट क्लष्टर, स्मार्ट प्यूरिफयर, तीन फरक ड्राइभिङ मोड, रिमोट इन्जिन स्टाट सुविधा पाउन सकिन्छ । यसका अलावा पनि क्रेटामा थुप्रै फिचर समावेश गरिएको छ ।

प्रतिस्पर्धात्मक मूल्य
हुन्डाई क्रेटा अहिले नेपाली बजारमा विभिन्न ६ भेरियन्टमा विक्री वितरण हुँदै आएको छ । कम्पनीले डिजेल इन्जिनमा दुई र पेट्रोल इन्जिनमा ४ भेरियन्ट विक्री गर्दै आएको हो ।
सबैभन्दा कम मूल्यको क्रेटा इ लोडेड डिजेल इन्जिन भएको भेरियन्ट हो यसको मूल्य ४५ लाख ५६ हजार रुपैयाँ रहेको छ । डिजेलमा अर्को एस भेरियन्ट रहेको छ यसको मूल्य ५६ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
पेट्रोल इन्जिनमा उपलब्ध एस भेरियन्टको ५३ लाख ९६ हजार, एसएक्स भेरियन्टको ६१ लाख ५६ हजार, एसएक्स सिभीटीको ६७ लाख ९६ हजार र एसएक्स (ओ) सिभीटीको ७४ लाख ९६ हजार रुपैयाँ रहेको छ ।


