काठमाडौं । कोभिड १९ को बढ्दै गएको संक्रमणले आक्रान्त पारिरहेको बेलामा विरामीको उपचारमा अक्सिजनको खपत धेरै हुन थालेपछि अक्सिजनको माग उच्च हुँदै गएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाटै अक्सिजनको माग पुरा गर्न विभिन्न पहल हुँदै आएका छन् ।
यही बढी रहेको अक्सिजन सिलिन्डरको मागलाई सहज गर्ने उद्देश्यले ‘उपाय सिटी कार्गो’ले निःशुल्क दुवानी सेवा दिइरहेको छ । निषेधाज्ञाका कारण अक्सिजन सिलिन्डर ओसार पोसार गर्न सर्वसाधारण तथा केही संस्थाहरुलाई निक्कै समस्या परिरहेको समयमा ‘उपाय सिटी कार्गो’का कर्मचारी र यस संस्थासँग आबद्द टाटा योद्धा र टाटा एसका सवारीधनीहरु मिलेर हाल काठमाडौं, पोखरा तथा बुटवल-भैरहवामा निःशुल्क सेवा दिदैँ आएका छन् ।
उपाय सिटी कार्गोका चिफ अपरेटिङ अफिसर (सीओओ) अमिगो खड्का भन्छन् ‘हामीले हाल मे २३ सम्म ५१२ भन्दा बढी अक्सिजन सिलिन्डरहरु डेलिभर गरिसकेका छौं । हाम्रो उपाय सिटी कार्गोको सन्जालमा आबद्द सबै सवारीसाधन अग्रपन्थीमा डटेर अत्यावश्यक सामाग्रीहरु दुवानी गर्दै आएका छन् । अहिले २० जना टाटा गाडीका सवारीधनीहरुले सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै दुवानी सेवा दिइरहनु भएको छ ।’
यदि तपाईलाई पनि अक्सिजन सिलिण्डर डेलिभरीको लागि गाडी चाहिएको छ भने ९८८१०९८८३० र ९८८१०९८८८० मा फोन गर्न सक्नु हुनेछ । कम्पनीले यो सेवा २४ घन्टा नै उपलब्ध रहने जनाएको छ ।

