मारुती सुजुकीको नयाँ सेलेरियोको मूल्य घोषणा, केही दिनपछि सार्वजनिक हुने

काठमाडौं । मारुती सुजुकीको ह्याचव्याक कार सेलोरियोको मूल्य कम्पनीले घोषणा गरेको छ । कम्पनीले नयाँ सेलेरियोको मूल्य ४ लाख ५० हजारदेखि ६ लाख ५० हजार भारतीय रुपैयाँसम्म कायम गर्ने घोषणा गरेको हो ।

मूल्य घोषणा गरेपनि कम्पनीले नयाँ जेनेरेशन सेलेरियो कति भेरियन्टमा बजारमा आउने छ भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन । कम्पनीले मूल्य नै घोषणा गरेकाले अबको केही दिनपछि भारतमा यसको आधिकारीक विक्री सुरु हुने अनुमान गरिएको छ ।

मारुती सुजुकीले सन् २०१४ मा पहिलो पटक बजारमा ल्याएको सेलेरियो पहिलो पटक जेनेरेशन परिवर्तन गरेर ल्याउन लागिएको हो । नयाँ जेनेरेशनमा व्यापक परिमार्जन र थुप्रै सेग्मेन्टमा नै पहिलो फिचरसहित आउने अपेक्षा गरिएको छ ।

मारुती सुजुकीको हर्टटेक मोडुलर लाइटवेट प्ल्याटफर्ममा आउन लागेको सेलेरियो पहिलेभन्दा लामो ह्वील वेस र फराकिलो क्यावीन सहित आउने अपेक्षा गरिएको छ ।

यसअघि १.० लिटर थ्रि सिलिण्डर इन्जिन प्रयोग भएको सेलेरियो नयाँ जेनेरेशनमा १.२ लिटर इन्जिन हुने अपेक्षा गरिएको छ । यसमा दिइने के १२ इन्जिनले अधिकतम ८३ बीएच पावर प्रदान गर्ने छ । यो इन्जिन अहिले वागेनआरमा प्रयोग भइरहेको छ । यसमा ५ स्पीड म्यानुयल र ५ स्पीड एएमटी गियरबक्स रहने छ ।

मारुती सुजुकीको नयाँ डिजाइन ल्याङ्गवेज प्रयोग हुने भएकाले यसको बाहिरी डिजाइनमा पनि व्यापक परिमार्जन हुने परिक्षणको क्रममा देखिएको गाडीबाट प्रस्ट हुन्छ । पछिल्लो समय भारत सरकारले तोकेको सबै सुरक्षा मापदण्ड पुरा गरेर आउने नयाँ सेलेरियोमा अगाडिको ग्रिल निकै स्लीम रहने छ । स्वीप्ट व्याक हेडल्याम्प, टियर ड्रप आकारको टेलल्याम्प, टप भेरियन्टमा अलोय ह्वील र स्टायडर्ड भेरियन्टमा ह्वील कभरसहितको स्टील ह्वील रहने छ ।

यसको ड्यासबोर्ड पूर्णत नयाँ रहने छ । नयाँ स्टेरिङ ह्वील, इन्फोटेन्टमेन्ट सिस्टम लगायतका फिचर ग्राहकले नयाँ सेलेरियोमा पाउने छन् ।

बजारमा नयाँ सेलेरियोले हुन्डाई सेन्ट्रो, टाटा टियागो जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने छ । नेपाली बजारमा आउँदा नयाँ जेनेरेशन सेलेरियोको मूल्य २६ लाखदेखि ३२ लाखरुपैयाँसम्म पर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top