कियाको नयाँ इलेक्ट्रीक कार इभी–६ केही घन्टा भित्रै ‘सोल्ड आउट’

काठमाडौं । कियाको नयाँ इलेक्ट्रीक एसयूभी इभी-६ अमेरिकी बजारमा सोल्ड आउट भएको छ । कम्पनीले अमेरिकी बजारमा पहिलो लटमा १५०० यूनिट इभी-६ विक्री गर्ने रणनीति अनुरुप बुकिङ खुल्ला गरेको थियो । बुकिङ खुल्ला भएको केही घण्टा भित्रै इभी-६ सोल्ड आउट भएको हो ।

कियाले ल्याएको नयाँ इलेक्ट्रीक इभी-६ लाई फास्ट चार्जरबाट ५ मिनेट चार्जगर्दा ११२ किलोमिटर गुडाउन सकिने कम्पनीले दावी गरेको छ । अमेरिकी बजारमा कियाको विक्रीपछि चर्चित कम्पनी टेस्लालाई कडा टक्कर दिनसक्ने विष्लेशण भइरहेको छ ।

कियाले अमेरिकी ग्राहकको ध्यान खिच्न यसको बुकिङ गर्ने ग्राहकलाई एप्पल वाच, होम चार्जर र कम्पनीको नेशनल चार्जिङ नेटवर्क भित्र १ हजार किलोवाट निःशुल्क चार्ज मध्ये एक छनोट गर्न सक्ने अफर दिएको थियो । करिब ८० प्रतिशत ग्राहकले होम चार्जर छनोट गरेको इन्साड इभीले उल्लेख गरेको छ ।

किया इभी-६ कम्पनीको नयाँ ‘इलेक्ट्रीक ग्लोवल मोडुलर प्ल्याटफर्म’मा तयार भएको हो । विभिन्न ३ भेरियन्ट इभी-६, इभी-६ जिटी र इभी-६ जिटी लाइनमा उपलब्ध रहेको छ ।

कम्पनीले आफ्नो नयाँ इलेक्ट्रीक एसयूभीको धेरै रेञ्ज दिने भेरियन्टमा ७७.४ किलोवाट आवरको व्याट्री दिएको छ भने, सानो व्याट्री ५८ किलोवाट आवरको रहेको छ । रियर हेवील ड्राइभ र अलह्वील ड्राइभ अप्सनको साथ आउने किया इभी-६ को लम्बाई ४ हजार ६८० एमएम, चौडाई १ हजार ८८० एमएम र उचाई १ हजार ५५० एमएम रहेको छ । यसमा २ हजार ९०० एमएमको ह्वीलवेस उपलब्ध रहेको छ ।

इभी-६ मा १२५ किलोवाट, १६८ किलोवाट, १७३ किलोवाट, २३९ किलोवाट र जिटी लाइन भेरियन्टमा ४३० किलोवाटको मोटर अप्सन उपलब्ध रहेको छ । नेपालमा १०० देखि १५० किलोवाटसम्मका मोटर जडान भएको कारमा १५ प्रतिशत र १५० देखि २०० किलोवाटसम्मको मोटर जडान भएको गाडीमा २० प्रतिशत भन्सार लाग्ने व्यवस्था बजेटले गरेको छ । यस्तोमा २०० किलोवाटभन्दा कम क्षमताको मोटर जडान भएको गाडी नेपाल ल्याउन उपयुक्त हुने देखिन्छ ।

इभी-६ मा ८०० भेल्ट र ४०० भोल्टको चार्जर उपलब्ध रहेको छ । यसलाई फासट चार्जरले १८ मिनेटमा १० देखि ८० प्रतिशत चार्जगर्न सकिने छ ।


Back_to_top