नेपालको लागि कति रेञ्जको विद्युतीय कार ठिक ? यस्तो छ धेरै उपभोक्ताको बुझाई

काठमाडौं । सरकारले विद्युतीय गाडीमा लगाएको अन्तःशुल्क हटाउँदै भन्सारमा पनि कटौती गरेसँगै विद्युतीय कारको चर्चा चुलिएको छ । नेपालमा विद्युतीय कारलाई चाहिने मुख्य पूर्वाधार चार्जिङ स्टेशन हो भने, त्यसको निर्माणमा सरकारी तयारीले पनि धेरै महत्व राख्छ ।

नेपाल विद्युत प्राधिकरणले अहिले देशका विभिन्न भागमा ५० वटा चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । साथै निजी क्षेत्रले पनि स साना चार्जिङ स्पटहरु तय गरेका छन् । अधिकांश कम्पनीले होटलमा चार्जिङ गर्ने सुविधा दिएका छन् ।

कियाले कुरिनटार र वर्दिवासमा फास्ट चार्जिङ स्टेशन संचालन गरिरहेको छ । टाटा मोटर्सले एक वर्ष भित्र १२ स्थानमा फास्ट चार्जिङ स्टेशन निर्माण गर्ने जनाएको छ । सरकारले पनि नयाँ बजेट मार्फत निजी क्षेत्रको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गर्ने उल्लेख गरेको छ ।

यी सबै प्रयास सफल भएमा नेपालमा कति रेञ्ज दिने गाडी उपयुक्त होला भन्ने बहस हुन जरुरी देखिन्छ । विद्युतीय गाडीको सबैभन्दा महंगो पक्ष भनेको यसमा प्रयोग हुने लिथियम आयोन व्याट्री हो । व्याट्रीको साइजले नै गाडीको रेञ्ज तय गर्छ । ठूलो व्याट्री र धेरै रेञ्ज प्रदान गर्ने विद्युतीय कार महंगो हुन्छ भने सानो साइजको व्याट्री र कम रेञ्ज दिने गाडी सस्तो मूल्यमा पाइन्छ ।

कति रेञ्ज आवश्यक

भौगोलिक हिसावले हेर्दा नेपालमा धेरै रेञ्ज दिने इलेक्ट्रीक गाडी आवश्यक नपर्ने जानकारहरु बताउँछन् । सहरी क्षेत्रको लागि १५० देखि २०० किमि र केही लामो यात्रा गर्ने मानिसको लागि ३०० किमि रेञ्ज पुग्दो हुने उनिहरुको भनाई छ । तर, त्यसको लागि ठाँउ ठाँउमा फास्ट चार्जिङको सुविधा उपलब्ध हुनु पर्ने हुन्छ ।

नेपालमा उपलब्ध सबै इलेक्ट्रीक कारकाे मूल्यसहितकाे विवरण

नेपालमा विद्युतीय कारको प्रयोग बढाउने अभियानमा लागेका अभियन्ता कुशल राजभण्डारी भन्छन्, ‘ठूलो व्याट्रीले मूल्य बढाउँछ भने सानो व्याट्री कम मूल्यमा पाइन्छ । यसले ग्राहकलाई छनोट प्रदान गर्छ । आफुले दैनिक तय गर्ने दुरी हेर इभी छनोट गर्नु पर्छ । त्यसैले पनि हुन्डाई र कियाले आफ्नो कोना र निरोलाई दुई व्याट्री अप्सनमा ल्याएको हो ।’

राजभण्डारीका अनुसार एक वर्षमा दुई दिन लामो दुरी यात्रा गर्ने सोच भएकाहरुले ठूलो रकम खर्च गरेर ५०० किमि चल्ने विद्युतीय गाडी रोज्न आवश्यक हुँदैन । पैसा खर्च गर्न सक्नेले किन्दा केही फरक पर्दैन ।

इलेक्ट्रीक कार मनपराउने ऋषिराम दवाडीका अनुसार ३०० देखि ३५० किलोमिटर रेञ्ज नेपालको लागि काफी हुने बताउँछन् । तर, गाडीको पावर र ग्राउन्ड क्लियरेन्स भने राम्रो हुनु पर्छ ।

अर्का, गोविन्द कुँवर ४ सय किमि रेञ्ज र कम्तीमा १९० एमएम ग्राउन्ड क्लियरेन्स आवश्क पर्ने बताउँछन् ।

विद्युतीय गाडीमा निकै रुची राख्दै मानिसलाई त्यसका धेरै पाटामा जानकारी दिदै आएका पूर्ण एन रञ्जितकार कस्ता सडकमा आफ्नो गाडी प्रयोग गर्ने भन्ने विषय ध्यानमा राखेर गाडी छनोट गर्न सुझाव दिन्छन् । दिनमा १०० किमिभन्दा बढी यात्रा गर्न नपर्नेलाई १४० देखि १५० किमि रेञ्ज प्रदान गर्ने गाडी प्रयाप्त हुने बताउँछन् ।

राती घरमा चार्ज गर्न सकिने यस्ता गाडी मूल्यका हिसावले पनि सस्तो रहेका छन् । रञ्जितकारका अनुसार १६० देखि १८० एमएम ग्राउन्ड क्लियरेन्स पनि हाम्रा बाटामा उपयुक्त हुने उनको बुझाई छ । साना गाडी १५० एमएम ग्राउन्ड क्लियरेन्समा पनि राम्रो पर्फमेन्स गरिरहेको भन्दै उनि भन्छन्, ‘ह्वीलवेसको आधारमा ग्राउन्ड क्लियरेन्स हेर्नुपर्छ ।’

हाम्रो सुझाव

आफ्नो वजेट, दैनिक यात्रा गर्ने दुरी, घरमा इभी मैत्री पार्किङ, मूल्य, ग्राउन्ड क्लियरेन्स र सुरक्षा फिचर ध्यान दिएर मात्रै इलेक्ट्रीक कार छनोट गर्नु पर्ने हुन्छ । तपाईले छनोट गर्ने इभी ब्राण्ड पनि निकै महत्वपूर्ण हुन्छ ।

विद्युतीय गाडीमा आउन सक्ने टेक्निकल समस्या समाधान गर्न कम्पनीहरुले बनाएको सर्भिस सेन्टर र ती कम्पनीमा रहेको दक्ष जनशक्ति हेरर पनि गाडी छनोट गर्न उपयुक्त हुन्छ । २५० देखि ३०० किलोमिटर रेञ्ज नेपालको लागि उपयुक्त हुने देखिन्छ ।


Back_to_top