नेपालकै पहिलो मोटरसाइकल म्यूजियममा नयाँ र पुराना मोटरसाइकल किन्न सकिने

काठमाडौ । ‘बाइक, कफी, कल्चर र फन’ स्लोगन सहित सुरु भएको एसजे मोटो ग्यालरीमा अब नयाँ र पुराना मोटरसाइकल किन्न र बेच्न सकिने भएको छ । एसजे मोटोमा पुराना क्लासिक मोटरसाइकल किन्न र बेच्न सकिने छ भने, एमभी अगष्टाका नयाँ मोटरसाइकल पनि किन्न सकिने छ ।

एमभी अगष्टाको लिमिटेड एडिशन सुपरभेलो सिरी ओरो नेपालमा सार्वजनिक पछि मेरोअटोसँग कुरा गर्दै कम्पनीका चेयरम्यान सौरभ ज्योतिले उक्त कुराको जानकारी दिएका हुन् ।

‘एसजे मोटोमा आफुसँग भएका कुनैपनि ‘यूनिक’ मोटरसाइकल इच्छुक व्यक्तिले प्रर्दशनी गर्न सक्ने छन् भने कसैले किन्न वा बेच्न चाहेमा पनि त्यो सुविधा उपलब्ध हुनेछ’, ज्योतिले भने ।

एसजे मोटोले नेपाल ल्याएको सुपरभेलो सिरी ओरो मोटरसाइकल ग्यालरीमा प्रदर्शको लागि मात्र राखिने जनाएको छ । यो मोडल विक्रीका लागि भने उपलब्ध हुने छैन । सुपरभेलोको रेगुलर मोडल भने एसजे ग्यालरी मार्फत बुकिङ गरेर किन्न सकिने ज्योतिले जानकारी दिए ।

‘हामीले एसजे मोटोलाई ‘बाइक, कफी, कल्चर र फन’को अबधारणले सुरु गरेका हौं । अहिलेसम्म करिब १० हजार मोटरसाइकल पारखीले अटो ग्यालरी भिजिट गरिसकेका छन्’, ज्योतिले भने ।

कम्पनीले सार्वजनिक गरेको तथ्यांकले मोटरसाइकल प्रति नेपालीहरुको लगाव प्रस्ट भएको बताएको छ । ग्यालरी अबलोकन गर्न आउने मानिसले यहाँ उच्च स्तरिय कफीका साथै, नेपाली खानाको मज्जा लिदै फरक फरक डिजाइनका विश्व स्तरीय मोटरसाइकल हेर्न सक्ने छन् ।

एसजे ग्यालरीमा मोटरसाइकलमा यात्रा गर्नेहरुको लागि आवश्यक पर्ने सेफ्टी गियरहरु र बाइकिङ वयरहरु समेत विक्री हुँदै आएको छ ।


Back_to_top