निसान लिफ र विवाइडी इ–६ मा कुन उत्कृष्ट ? यस्ता छन् भिन्नता

काठमाडौं । इलेक्ट्रीक कारको बजारमा सकारात्मक प्रभाव देखिएसँगै कम्पनीहरु नयाँ नयाँ मोडल नेपाल ल्याउन लागि परेका छन् । यस्तोमा विद्युतीय कार निर्माता कम्पनी विवाइडीले नयाँ जेनेरेशन इ–६ र अटोबजारमा प्रभावशाली मानिएको निसानले इलेक्ट्रीक मोडल लिफ नेपाल ल्याउने घोषणा गरेको छ ।

विवाइडीले नयाँ जेनेरेशन इ–६ को दुई भेरियन्ट नेपाल ल्याएको छ । आइतवारबाट यसको विक्री सुरु हुने आधिकारीक विक्रेता साइमेक्स इङ्कले जनाएको छ । कम्पनीको अनुसार यसको मूल्य ५५ लाखदेखि ६० लाख रुपैयाँ कायम हुने छ । विवाइडी इ–६ क्रसओभर एमपीभी हो ।

त्यसैगरी निसानको आधिकारीक वितरक पायोनियर मोटोकर्पले हिजाे बुधवार लिफको डिजिटल लञ्च गरेको छ । कम्पनीले ५९ लाख ९९ हजार मूल्य निर्धारण गरेर यसको विक्री सुरु गरेको हो । तर, निसान लिफ भने नेपाल आएको छैन । अहिले बुकिङ गर्ने ग्राहकलाई अगस्ट अन्तिम सातासम्ममा हस्तान्त्रण गर्ने जनाइएको छ ।

मूल्यका हिसावले उस्तै देखिएका यी दुई इलेक्ट्रीक गाडीको बीचमा रहेको भिन्नतालाई यहाँ हामीले उल्लेख गरेका छौं ।

व्याट्री र रेञ्ज

विवाइडी कार निर्मातासँगै विश्वकै तेस्रो ठूलो व्याट्री उत्पादक पनि हो । कम्पनीले यसमा ७१.७ किलोवाट आवरको ठूलो व्याट्री दिएको छ । त्यहि कारण यसको रेञ्ज पनि निकै धेरै रहेको छ । एक पटकको फुल चार्जमा सहरी क्षेत्रमा ५२० र हाइवेमा ४१५ किलोमिटर चलाउन सकिने कम्पनीको दावी छ ।

निसान लिफमा ४० किलोवाट आवरको व्याट्री उपलब्ध हुने छ । कम्पनीका अनुसार लिफलाई एक पटकको फुल चार्जमा सहरी क्षेत्रमा ३६३ किलोमिटर गुडाउन सकिने छ । यसले हाइवेमा करिब ३०० किलोमिटर रेञ्ज प्रदान गर्ने छ ।

मोटर क्षमता

मोटर क्षमताको हिसावले निसान लिफ पावर फुल रहेको छ । यसमा ११० किलोवाट क्षमताको मोटर जडान भएको छ । तर, विवाइडी इ–६ मा ७० किलोवाटको मोटर जडान भएको छ ।

साइज र ग्राउन्ड क्लियरेन्स

विवाइडी इ–६ को नयाँ जेनेरेशन मोडलको लम्बाई ४६९५ एमएम, चौडाई १८१० एमएम र उचाई १६७० एमएम रहेको छ । नयाँ इ–६मा २८०० एमएमको ह्वीलवेस रहेको छ । यसमा १७५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । एमपीभी भएकाले यसमा आवस्यकता अनुसारको बुट स्पेश तयार गर्न सकिन्छ ।

निसान लिफको साइज इ–६ को तुलनामा कम छ । लिफको लम्बाई ४४९० एमएम, चौडाई १७८८ एमएम र उचाई १५३० एमएम रहेको छ । यसमा २७ एमएमको ह्वीलवेस पाउन सकिन्छ । यसको ग्राउन्ड क्लियरेन्स १५० एमएम रहेको छ ।

चार्ज गर्न लाग्ने समय

निसान लिफमा दिइएको व्याट्रीलाई घरायसी विद्युतवाट ३ किलोवाट क्षमताको एसी चार्जरले चार्ज गर्दा करिब १६ घन्टा लाग्ने छ भने, ६ किलोवाट चार्जर प्रयोग गर्दा ८ घन्टामा फुलचार्ज गर्न सकिने छ । यसलाई डिसी फास्ट चार्जरले चार्जगर्दा ८० प्रतिशतसम्म चार्ज गर्न ६० मिनेट लाग्ने छ ।

विवाइडीले इ–६ मा नयाँ व्लाड व्याट्री प्रयोग गरेको छ । यसलाई तीन किसिमको चार्जरबाट चार्ज गर्न सकिन्छ । ४० किलोवाटको एसी चार्जरले यसलाई २ घन्टामा फुल चार्ज गर्न सक्छ भने, ६.६ किलोवाटको एसी चार्जरले १२ घन्टामा फुल चार्ज हुने कम्पनीको दावी छ । यसलाई ६० किलोवाटको डिसी सिसिएस २ चार्जरले ९० मिनेटमा फुल चार्ज गर्ने कम्पनीले दावी गरेको छ ।

निष्कर्ष

निसान लिफ क्रस ह्याच हो भने विवाइडी इ–६ एमपीभी हो । जापानी उत्पादन लिफ र चिनियाँ उत्पादन इ–६ मा मूल्य बाहेक अन्य धेरै कुरा मिल्दैन । पावरमा निसान लिफ अब्बल छ भने रेञ्ज, स्पेश, ह्वीलवेसमा इ–६ अगाडि देखिन्छ । यस्तोमा ग्राहकले कुन गाडी धेरै मनपराउँछन् त्यो भने हेर्न केही समय कुर्नु पर्ने हुन्छ ।


Back_to_top