काठमाडौं । सन् २०२१ मा विभिन्न कम्पनीले नयाँ मोटरसाइकल बजारमा ल्याउने तयारी गरिरहेका छन् । भारतीय बजारमा उत्पादन हुने विभिन्न ब्राण्डका ९ नयाँ मोडल बजारमा आउने तयारी भइरहेको हो ।
कम्पनीहरुले ल्याउने यी मोडल केही नयाँ हुन् भने कही नयाँ जेनेरेशन मोडल हुने छन् । कोभिड १९ को उच्च प्रभाव परेको भारतमा उत्पादन हुने यी मोडलहरु नेपाल पनि आउने छन् ।
अपाचे आरआर ३१०
टीभीएसले केही समय अगाडि नै परिमार्जन सहितको आरआर ३१० सार्वजनिक गर्ने अनुमान रहेको थियो । कोभिडका कारण केही समयपछि सरेको यसको सार्वजनिक कार्यक्रम अब छिट्टै हुनेछ । अबको केही हप्तापछि नै नयाँ अपडेट सहितको अपाचे आरआर ३१० सार्वजनिक हुने छ । यसमा कम्पनीले फ्रन्ट सस्पेन्सनलाई एड्जष्ट गर्न मिल्ने बनाएको छ भने, यसको इन्जिनलाई रिफाइन गरेको छ ।
रोयल इन्फिल्ड क्लासीक ३५०
कम्पनीले धेरै पटक परिक्षण गरिरहेको क्लासीक ३५० न्यू जेनेरेशन मोडल आगामी अक्टोबरसम्ममा बजारमा आउने छ । रोयल इन्फिल्डको क्लासीक ३५० भारतीय र नेपाली बजारमा निकै लोकप्रिय मोटरसाइकल हो ।

यामाहा एफजेड एक्स
कम्पनीले रेट्रो डिजाइनम एफजेड एक्स चाँडै नै सार्वजनिक गर्ने भएको छ । कम्पनीले १५० सीसी क्षमताको रेट्रो मोटरसाइकल ल्याउने तयारी थालेको हो । धेरै पटक यो मोटरसाइकल परिक्षणमा देखिएको छ । यामाहा एफजेडमा आधारित यो मोटरसाइकल २०२१ को अन्त्यसम्ममा सार्वजनिक हुनेछ ।
पल्सर २५० ट्वीन
बजाजले बहुप्रतिक्षित मोटरसाइकल पल्सर एन २५० र पल्सर आरएस २५० सार्वजनिक गर्ने भएको छ । यो मोटरसाइकल २०२१ को अन्त्यमा भारतमा सार्वजनिक हुने अनुमान गरिएको छ । भारतमा सार्वजनिक भएसँगै नेपालमा पनि यसको विक्री सुरु हुने अनुमान गर्न सकिन्छ । हाल बजाजका सबै मोटरसाइकल नेपालमा नै एसेम्वल हुँदै आएको छ ।
रोयल इन्फिल्ड हन्टर
कम्पनीले अर्को नयाँ मोटरसाइकल हन्टर सार्वजनिक गर्दैछ । यो मोटरसाइकल २०२१ भित्र नै सार्वजनिक हुने अनुमान गरिएको छ । यो मोटरसाइकल मेटोर ३५० मा आधारित रोडस्टार हुने छ ।
केटीएम आरसी २००/३९०
कम्पनीले यी दुबै मोडलको नयाँ जेनेरेशन सार्वजनिक गर्ने भएको छ । जुलाईमा सार्वजनिक हुने अनुमान गरिएको यी मोटरसाइकलको डिजाइन र चेचिसमा परिर्वतन हुने छ ।
हस्कभर्ना २०० ट्वीन
हस्कभनाले २०० सीसी ट्वीन मोटरसाइकल सार्वजनिक गर्ने भएको हो । हस्कभर्ना स्भर्टपिलेन र भिट्पिलेन २०० यही वर्षको अन्त्यसम्ममा सार्वजनिक हुने अनुमान गरिएको छ ।
केटीएम ४९०
केटीएमले गतवर्ष ३९० एड्भेञ्चर सार्वजनिक गरेको थियो भने यो वर्ष ४९० सिरिजमा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले ४९० सिरिजमा ४९० ड्यूक, आरसी ४९०, ४९० एड्भेन्चर सार्वजनिक गर्ने भएको हो ।
रोयल इन्फिल्ड ६५० क्रुजर
गतवर्ष नै भारतीय बजारमा सार्वजनिक हुने अनुमान गरिएको रोयल इन्फिल्ड ६५० क्रुजर मोटरसाइकल यो वर्षको अन्त्यसम्ममा भारतमा सार्वजनिक हुनेछ । यसमा ६५० सीसी प्यारलल ट्वीन इन्जिन रहने छ । यो इन्जिनले ४७.६५ पीएस र ५२ एनएम टर्क जेनेरेट गर्छ ।


