किन बढेन इलेक्ट्रीक स्कुटरको विक्री, यस्ता छन् कारण

इलेक्ट्रीक कारको तुलनामा इलेक्ट्रीक स्कुटरको बजार बढ्न सकेको छैन । अहिले नेपाली बजारमा एक दर्जनभन्दा धेरै ब्राण्डले इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएका छन् । एक वर्षमा यति धेरै ब्राण्डले १ हजार यूनिट पनि इलेक्ट्रीक स्कुटर विक्री गर्न सकेको देखिदैन ।

नेपालमा अहिले एनआईयू, टेल्जी, याडिया, लेभलिङ, एम्पियर, प्योर इभी, टेरा, वेला, डिटेल, सेग्वे, सुपर शोको, मियामा जस्ता दर्जन बढी ब्राण्डले आफ्नो उत्पादन विक्री गर्दै आएको भएपनि संख्यात्मक रुपमा विक्री गर्न सकिरहेका छैनन् । यसले नेपालमा विद्युतीय सवारी साधन उपभोग बढाउने विषयलाई कठिन बनाउने देखिएको छ ।

स्कुटरको प्रयोग गर्ने अधिकांश मानिसले कतै घुम्न निस्कन अफ्ठ्यारो हुनु र राम्रा स्कुटरको मूल्य धेरै भएकै कारण इलेक्ट्रीक स्कुटर विक्री नभएको बताउने गरेका छन् ।

पेट्रोलबाट चल्ने स्कुटर खरिद गरेपछि नयाँ वानेश्वरकी क्षितिजा शाक्य भन्छिन्, ‘इलेक्ट्रीक किन्ने इच्छा थियो तर, अफुलाई मन पर्ने मोडल कुनै भेट्टाइन । त्यसैले पेट्रोलबाटै चल्ने स्कुटर किने ।’

त्यस्तै भनाई सुनाउँछन् सिन्धुली घर भएर चावहिल बस्ने अर्जुन खड्का । उनि भन्छन्, ‘किन्न त विद्युतीय किन्ने भनेर एनआईयूको शोरुम गए, एक पटक चार्ज गरेर गाउँको घर जान सकिने अवस्था रहेन छ, त्यसैले पेट्रोलबाट चल्ने स्कुटर नै किने ।

यी दुई जना प्रतिनिधि पात्र मात्र हुन् । यस्तै समस्या धेरै स्कुटर किन्नेहरुको छ । विषेशत विगतमा चिनियाँ ब्राण्डको असफलताको कारण पनि धेरै मानिस इलेक्ट्रीक स्कुटर किन्नबाट तर्सेको बुझ्न सकिन्छ ।

सर्भिस सेन्टरको व्यवस्था नहुँनु, स्पेयर पार्टस्को आवस्यक व्यवस्था नगर्नु, उच्च मूल्य, चार्जिङ स्टेशन निर्माणमा आयातकर्ता र सरकारले कुनै ठोस काम नगर्नु र ठूला र नाम चलेका ब्राण्डले विद्युतीय स्कुटर नल्याउनुले उपभोक्तामा विस्वास पैदा हुन सकेको छैन ।

चल्तीका ब्राण्ड आएसँगै होला परिवर्तन ?

अहिले मोटरसाइकलमा चर्चित रहेका ब्राण्ड बजाज, होन्डा, हिरो, टीभीएस, सुजुकी, भेष्पा, अप्रिलिया जस्ता ब्राण्डले विद्युतीय स्कुटर बनाउन सुरु गरेका छन् । बजाजको चेतक नेपालमा नै एसेम्बल गर्ने तयारी भइरहेको छ भने टीभीएसको आइक्यूव पनि चाँडै नेपाल आउन सक्ने मोडलको रुपमा रहेको छ ।

सुजुकी बर्गम्यान स्ट्रीटको इलेक्ट्रीक मोडल, भेष्पा इलेक्ट्रीक, हिरो डेस्टीनी इलेक्ट्रीक, होन्डा पीसीएक्स इलेक्ट्रीक जस्ता मोडल निकट भविष्यमा नै नेपाली बजार प्रवेश गर्ने छन् । भारतीय बजारमा पछिल्लो समयमा चर्चामा रहेको ओला इलेक्ट्रीक र अथर ब्रान्डको स्कुटर नेपाल ल्याउने तयारीमा नेपाली व्यवसायी लागेका छन् । यसले इलेक्ट्रीक स्कुटरको चार्जिङ पूर्वाधारदेखि अन्य सर्भिससँग जोडिएका समस्या समाधान गर्ने अनुमान गर्न सकिन्छ ।

 


Back_to_top