काठमाडौं । एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले नयाँ इलेक्ट्रीक कार एमजी-५ नेपाल ल्याउन लागेको संकेत दिएको छ । कम्पनीका महाप्रबन्धक सचिन अर्यालले यसको सम्भाव्यता जाँच्न शोसल मिडियामा पोष्ट गरेका छन् ।

उनको पोष्टसँगै एमजीको इजेडएसको सफलताबाट उत्साहित बनेको कम्पनीले आफ्नो दोस्रो मोडल एमजी-५ नेपाल ल्याउन लागेको आँकलन गरिएको छ ।
बेलायती बजारमा विक्री वितरण हुँदै आएको एमजी-५ क्रसओभर गाडी हो । बेलायतमा यसको सिधा प्रतिस्पर्धा निसान लिफसँग भइरहेको छ । नेपाली बजारमा पनि निसान लिफ आउने पक्का भइसकेको समयमा यो गाडी आउन संकेत कम्पनीले गरेको हो ।
पारामाउन्ट मोटर्सले नेपाल ल्याउने यो क्रसओभरको मूल्य एमजी इजेडएसभन्दा कम हुने छ । कति कम हुन्छ भन्ने विषयमा भने अहिल्यै केही भन्न सक्ने अवस्था छैन । एमजी इजेडएसको मूल्य ५० लाख ९९ हजार रुपैयाँ रहेको छ ।
एमजी-५ मा एप्पल कार प्ले, एलइडी डे टाइम रनिङ लाइट, १६ इन्चको अलोय ह्वील, फेब्रिक र लेदर अपहोलिस्टीक, अटोमेटिक एसी, स्मार्ट किलेस इन्ट्री, लेदरले मोरिएको स्टेरिङ ह्वील, रियर पार्किङ क्यामेरा, रेन सेन्सिङ वाइपर जस्ता फिचर उपलब्ध रहेको छ ।
एमजी-५ मा ५२.२ किलोवाट आवरको व्याट्री जडान गरिएको छ । उक्त व्याट्रीलाई एक पटकको फुल चार्जले सहरी क्षेत्रमा ४४० किलोमिटर र हाइवेमा ३४२ किलोमिटर गुडाउन सक्ने डब्लुएलटीपीले प्रमाणित गरेको छ । यसमा ११५ किलोवाटको इलेक्ट्रीक मोटर पाउन सकिन्छ ।


