काठमाडौं । रोयल इन्फिल्ड मेटोर-३५० नेपालमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । रोयल इन्फिल्डको ‘मोटरसाइकल अफ दि इयर २०२१’ अवार्ड जित्न सफल मोडल मेटोर-३५० नेपालमा विक्री सुरु हुने भएको हो ।
रोयल इन्फिल्डको आधिकारीक वितरक विवेक अटोमोवाइल्सले मेटोर नेपालमा सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको जनाएको छ । यो मोटरसाइकल तीन भेरियन्टमा ७ कलर अप्सनमा नेपालमा सार्वजनिक हुने कम्पनी स्रोतले मेरोअटोलाई जानकारी दिएको छ ।
‘मोटरसाइकल ल्याउने सबै प्रक्रिया पुरा भइसकेको छ । अब सार्वजनिक गर्न केही प्राविधिक काम मात्र बाँकी रहेको छ । यो मोटरसाइकल तीन भेरियन्टसहित ७ कलर अप्सनमा उपलब्ध हुने छ,’ स्रोतले भन्यो ।
मेटोर ३५० मा अलोय ह्वील, डिस्क ब्रेक, गोलो हेडलाइट, एलइडी डे टाइम रनिङ लाइट, यूएसबी चार्जर, पुल्ड व्याक ह्याण्डलबार, स्वीङ रियर फेन्डर, एलइडी टेललाइट, सेमि-डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, व्ल्यूटुथ कनेक्टीभीटी, टर्न वाई टर्न इन्डिकेटर जस्ता फिचर यसमा उपलब्ध रहेको छ ।
मेटोर ३५० मा ३५० सीसी क्षमताको सिंगल सिलिण्डर एयर कुल्ड, एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम २०.२ बीएच पावर र २७ एनएम टर्क प्रदान गर्ने छ ।
भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा उपलब्ध हुने मेटोर ३५० मा ड्यूल च्यानल एबीएस दिइएको छ । कम्पनीले यसमा १५ लिटर क्षमताको इन्धन ट्याङ्क दिएको छ भने १७० एमएमको ग्राउन्ड क्लियरेन्स दिएको छ ।
मोटरसाइकलको ब्रेकिङ सिस्टमलाई उत्कृष्ट बनाउन कम्पनीले यसको अगाडि चक्कामा ट्वीन पिस्टन फ्लोटीङ क्यालीपरको साथ ३०० एमएमको डिस्क र पछाडि चक्कामा सिंगल पिस्टन फ्लोटीङ क्यालीपरको २७० एमएमको डिस्क दिएको छ ।
विभिन्न तीन भेरियन्टको मूल्य ६ लाख ५० हजारदेखि ७ लाख ५० हजारको बीचमा रहने अनुमान गर्न सकिन्छ ।


