काठमाडौं । क्लासीक लेजेन्डको उपमा पाएको मोटरसाइकल ब्रान्ड जावाले बजारमा ल्याउने तयारी गरेको नयाँ मोटरसाइकल देखिएको छ । इन्टरनेट मार्फत बाहिर आएको तस्वीरका अनुसार जावाले नयाँ मोटरसाइकल ल्याउने अनुमान सुरु भएको हो ।
अहिले जावाको लाइनअपमा ‘जावा, जावा फोर्टी टू र पेराक’गरी तीन मोडल रहेका छन् । यी तीन वटै मोडल नेपाली बजारमा पनि विक्री हुँदै आएको छ ।
इन्टरनेटमा देखिएको स्पाई तस्वीर अनुसार यसको फ्युल ट्याङकमा जावाको व्याच प्रयोग गरिएको छ भने, त्यससँगै ‘आरभीआर-५००’ को व्याचसमेत देखिएको छ । तस्वीरमा देखिए अनुसार यो फिलिपिनो वेस ‘ब्रिस्टोल भेलोस-५००’ मा आधारित रहेको छ ।
भेलोस ५०० मा ४७१ सीसी लिक्वीड कुल्ड, ट्वीन सिलिन्डर इन्जिन रहेको छ । उक्त इन्जिनले ४७ पीएस पावर तथा ४३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।
जावाले यो मोटरसाइकल भारतमा ल्याउने हो भने मिड क्यापासिटी ट्वीन सिलिन्डर मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ । भारतय उत्पादक बजाजले पनि ५०० सीसी ट्वीन सिलिन्डर क्षमताको मोटरसाइकल निर्माणमा काम गरिरहेको छ । केटीएम ड्युक ४९० र एड्भेन्चर ४९० तथा बजाजले ट्राइम्फसँगको सहकार्यमा ट्वीन सिलिन्डर मोटरसाइकल निर्माण गर्ने जनाएको थियो ।
जावाले आफ्नो नयाँ मोडल सन् २०२२ को सुरुवातमा बजारमा ल्याउने अनुमान गरिएको छ । यो मोटरसाइकल बजारमा आएसँगै जावाले इलेक्ट्रीक मोटरसाइकल निर्माणमा लाग्ने अनुमान गरिएको छ ।

