काठमाडौं । कार चढ्ने सपना हरेक मानिसको हुन्छ । तर, हाम्रो जस्तो देशमा सानो कार किन्न पनि लाखौं रुपैयाँ खर्च गर्नु पर्दा धेरै मानिसले कार खरिद गर्न सकिरहेका छैनन् ।
सरकारले विलासी बस्तुको सूचीमा राखेर लगाएको उच्च करको कारण भारतमा ४ लाखदेखि ८ लाख भारुमा खरिद गर्न सकिने कार यहाँ २० लाखदेखि ४० लाखसम्म पर्छ । त्यसैले थोरै मासिक आम्दानी हुने मानिसले कार किन्ने सपना समेत बुन्न सक्दैनन् ।
सहरी क्षेत्रमा बसोबास गर्ने र परिवारमा एक भन्दा धेरै मानिस कमाउने भएको खण्डमा मासिक ४० हजार रुपैयाँ कमाउने मानिसले पनि साना कार चढ्न सक्ने अवस्था रहेको छ । मासिक १५ देखि २० हजारसम्म किस्ता तिर्नेगरी चढ्न सकिने कार यो बर्गको रोजाईमा पर्छ ।
नेपाल राष्ट्र बैंकले पनि मासिक आम्दानीको ५० प्रतिशतभन्दा बढी किस्ता तिर्नेगरी गाडी कर्जा दिन रोक लगाएको छ । यसले ४० हजार मासिक आम्दानी हुने मानिसले मासिक २० हजारभन्दा धेरै रकम किस्ता तिर्नेगरी कर्जा सुविधा पाउँदैनन् ।
अहिले बजारमा उपलब्ध कम्बस्चन इन्जिन भएका कार किन्न चाहने मानिसले कारको मूल्यको ५० प्रतिशत रकम सुरुमै एकमुष्ठ बुझाउनु पर्ने हुन्छ । यो व्यवस्थाले २० लाख रुपैयाँ पर्ने कार किन्न नै एकै पटक १० लाख डाउन पेमेन्ट बुझाउनु पर्नेछ । तर, विद्युतीय कारमा त्यस्तो रकम २० प्रतिशत बुझाए पुग्छ । जुन २० लाख मूल्यको गाडीको डाउन पेमेन्ट ४ लाख रुपैयाँ गरे पुग्छ । तर, मासिक किस्ता धेरै पर्ने हुँदा कर्जा सुविधा उपभोग गर्न पाउँदैनन् ।
डाउन पेमेन्ट जति कम राख्यो त्यति धेरै मासिक किस्ता तिर्नु पर्ने हुन्छ । त्यसले थोरै डाउन पेमेन्ट गरेर विद्युतीय कार किन्ने आँट पनि धेरैले गर्ने गरेका छैनन् ।
यस्ता छन् कम मूल्यमा पाइने कार
अहिले बजारमा उपलब्ध सबैभन्दा कम मूल्यको कम्वस्चन इन्जिन युक्त कार अल्टो ८०० हो । यसको मूल्य १९ लाख ९ हजारबाट सुरु हुन्छ । त्यसैगरी रेनो क्वीड, मारुती सुजुकी एस–प्रेसो, हुन्डाई सेन्ट्रोको सुरुवाती भेरियन्ट, डाट्सन रेडी गो जस्ता मोडल ५० प्रतिशत डाउन पेमेन्ट बापतको रकम तयार छ भने मासिक ४० हजार कमाई गर्ने मानिसले पनि सहजै किन्न सक्छन् ।
त्यसैगरी अहिले विद्युतीय कार विक्रेताले १३ लाखदेखि २१ लाख रुपैयाँसम्म मूल्य तोकेर विक्री गर्दै आएका कार मासिक कमाई ४० हजार हुने व्यक्तिलाई लक्षित गरेर आएका छन् । यस्ता कार विक्रेताले ‘हेलमेट छाडौं, सिट वेल्ट बाँधौं’ नारा दिएर विक्री गर्दै आएका छन् ।
तर, यहाँ हामीले चर्चा गर्न खोजेका तीन कार मारुती सुजुकी अल्टो ८००, दिगो इ८ इलेक्ट्रीक र डेरी इएम ७ कार हुन् । यी कार किन्न चाहने मानिसको मासिक कमाई ४० हजार छ भने उनिहरुले यी गाडी खरिद गर्न सक्छन् ।
अल्टो ८००

मारुती सुजुकी अल्टो ८०० निकै सफल गाडी हो । सडकमा ट्याक्सीको रुपमा धेरै अल्टो ८०० गुढिरहेको देख्न सकिन्छ । तर, कम्पनीले निजी कारको रुपमा प्रयोग गर्ने ग्राहकलाई लक्षित गरेर विभिन्न कलर भेरियन्टमा यसलाई उपलब्ध गराएको छ । ट्याक्सीको रुपमा सेतो कलरको अल्टो प्रयोग हुँदै आएको छ । यसको सुरुवाती भेरियन्टको मूल्य १९ लाख ९ हजार रुपैयाँ रहेको छ । यसलाई किन्न चाहने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकम कर्जामा लिन पाउने छन् ।
अहिले बैंकले ७.५ प्रतिशत व्याजदरमा अटो लोन उपलब्ध गराएकाले ग्राहकले ७ वर्षे किस्ता अवधीमा मासिक १४ हजार ६४० रुपैयाँ तिर्नेगरी अल्टो खरिद गर्न सक्ने छन् । अल्टोको टप भेरियन्ट किन्दा पनि मासिक १७ हजार किस्ता तिर्नेगरी खरिद गर्न सकिन्छ ।
दिगो इ८

दिगो इ८ विद्युतीय कार हो । यसको मूल्य २१ लाख ९४ हजार रुपैयाँ निर्धारण गरेर कम्पनीले विक्री गर्दै आएको छ । यसलाई ग्राहकले २० प्रतिशत डाउन पेमेन्टदेखि नै खरिद गर्न सक्ने छन् । तर, २० प्रतिशत डाउन पेमेन्टगर्दा यसको मासिक किस्ता २६ हजार हाराहारी पर्न आउँछ । यो मासिक किस्ता तिर्न गाडी किन्न चाहने ग्राहकको मासिक आम्दानी ५५ हजार हाराहारी हुनुपर्छ । तर, ५० प्रतिशत डाउन पेमेन्ट गर्ने हो भने मासिक १६ हजार ८०० रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ । कर्जा अवधि र व्याजदर समान अल्टोकै राखेर हिसाव गरिएको हो ।
डेरी इभी ७

डेरीको इभी ७ र इएम ७ पनि विद्युतीय कार हुन् । यी दुबैको मूल्यमा जम्मा ४० हजार रुपैयाँको मात्रै फरक रहेको छ । इभी ७ को मूल्य १९ लाख ५० हजार र इभीएम ७ को मूल्य १९ लाख ९० हजार तोकेर विक्री हुँदै आएका छन् । यसको पनि ५० प्रतिशत डाउन पेमेन्ट गर्ने हो भने १५ हजार हाराहारी मासिक किस्ता पर्न आउँछ । तर, २० प्रतिशत डाउन पेमेन्टमा खेज्नेले भने २४ हजार हाराहारी मासिक किस्ता बुझाउनु पर्ने हुन्छ ।

