काठमाडौं । हुन्डाईले आफ्नो नयाँ जेनेरेशन टुसानलाई ‘एउटा डिजाइन रिभोलुसन’को संज्ञा दिएको छ । कम्पनीले बजारमा ल्याएको मिड साइज एसयूभीमा देखिएको परिमार्जनलाई विश्वभर रहेका हुन्डाई कार प्रेमीलाई मात्र नभई कारमा हुने क्रान्तिकारी परिवर्तन रुचाउने सबैलाई लोभ्याएको भान हुन्छ ।
यसमा दिइएको प्यारामेटिक हिडन लाइटले सबैको ध्यान खिचेको आभाष हुन्छ । यही कारण संसारभर टुसानको चर्चा बढिरहेको छ । चर्चा बढेसँगै हुन्डाई मोटर कम्पनी पनि यसको सफलतामा विश्वस्त देखिन्छ । सन् २००४ मा पहिलो पटक उत्पादन भएको टुसानले करिब १७ वर्ष पुरा गर्न लागेको छ । नेपालमा पनि सुरुवाती दिन देखिनै यसको विक्री वितरण हुँदै आएको छ ।
नेपालमा धेरैले सुरुमा ‘भ्यालु फर मनी’ देखेर प्रयोग गरेको टुसानको बढ्दो मूल्यका कारण पछिल्लो जेनेरेशनले सोचेजस्तो सफलता पाउन सकेको थिएन । तर, कम्पनीले ल्याएको नयाँ जेनेरेशन मोडलले कोरियामा सार्वजनिक भएदेखि नै धेरै नेपालीको ध्यान खिच्न सफल भएको थियो ।
अबको एक दुई दिन भित्रै नयाँ टुसान नेपाली बजारमा प्रबेश गर्न लागेको छ । ग्राहकलाई सजिलोको लागि यस पटक आधिकारीक आयातकर्ता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले टुसानको मूल्यसमेत आधिकारीक लञ्चिङ कार्यक्रम अगाडि नै सार्वजनिक गरेको छ ।

नेपाली बजारमा नयाँ जेनेरेशन टुसानको विभिन्न ४ भेरियन्ट उपलब्ध हुने छ । जसमा तीन भेरियन्ट पेट्रोल र एक भेरियन्ट डिजेल इन्जिनमा रहने छ । पेट्रोलमा एक म्यानुयल र दुई अटोमेटीक गियरबक्स रहने छ भने, डिजेल भेरियन्ट अटोमेटीक गियरबक्समा मात्रै उपलब्ध रहने छ ।
पेट्रोल इन्जिन भएको टुसान टु ह्वील ड्राइभ र डिजेल फोर ह्वील ड्राइभमा आउने छ । टुसानको सुरुवाती म्यानुयल जिएल भेरियन्टको मूल्य ८९ लाख ९६ हजार तोकिएको छ । साथै, जिएलएस पेट्रोल अटोमेटीकको १ करोड ७ लाख ९६ हजार र जिएलएक्स पेट्रोल अटोमेटीकको १ लाख १४ लाख ९६ हजार रुपैयाँ मूल्य निर्धारण भएको छ । डिजेल भेरियन्टको मूल्य १ करोड ३४ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
बोल्ड डिजाइन र प्रविधिको भरपुर प्रयोग गरिएको इन्टेरियर नयाँ टुसानको सबैभन्दा बलियो पक्ष हो । २.० लिटर टर्बो पेट्रोल र डिजेल इन्जिन यसको सबल पक्ष हो । यसले चालकलाई आवश्यक पावर प्रदान गर्नेछ ।


