काठमाडौं । नेपाली बजारमा इलेक्ट्रीक भेहिकलको प्रयोग बढेसँगै यसका कम्पोनेन्ट (आवश्यक उपकरण) हरु पनि उपलब्ध हुन थालेका छन् ।
यसैक्रममा स्मार्ट कम्फर्ट नेपालले नेपालमै पहिलो पटक इभीका लागि एसी फास्ट चार्जर बजारमा ल्याएको छ । स्मार्ट कम्फर्टले जर्मन कम्पनीले बनाएको डियोसिडा ब्राण्डको चार्जर नेपाल भित्र्याएको हो । यो चार्जर ७.४ किलोवाट क्षमताको रहेको छ ।
याे चार्जर सीसीएस स्ट्याण्डर्ड यूनिभर्सल टाइपटु अडाप्टर रहेको छ । यो चार्जरले नेपाल उपलब्ध हुन्डाईको कोना, कियाको निरो, एमजीको इजेडएस तथा बीवाइडीका इलेक्ट्रीक भेहिकल चार्ज गर्न मिल्ने स्मार्ट कम्फर्ट नेपालका अयुज शाक्यले बताए ।
यो चार्जरबाट चार्ज गर्दा ब्याट्रीको चार्ज शून्यमा रहेको अवश्थामा पनि ३९.२ किलोवाट आवर ब्याट्री रहेको हुन्डाईको कोना साढे ५ घण्टामा तथा ४४.५ किलोवाट आवर ब्याट्री भएको एमीजीको इजेड एस ६ घण्टामा फुल चार्ज हुनेछ ।

‘यो चार्जर कुनै पनि घर वा अफिसमा जडान गर्नको लागि कम्तीमा ३२ एम्पीयरको मिटर जडान भएको हुनुपर्छ । साथै घरको वायरिङ, अर्थिङ समेत भएको हुन पर्नेछ । यदि कसैको घरमा थ्री फेजको लाईन जडान छ भने अझ राम्रो हुन्छ,’ शाक्यले मेरो अटोसँग भने ।
कम्पनीले यो चार्जर ग्राहकको घर वा अफिसमा गएर सित्तैमा जडान समेत गरिदिने छ । यसको मूल्य प्रतियूनिट १ लाख १० हजार रुपैयाँ रहेको छ भने शुरुवाती ग्राहकहरुलाई ७ प्रतिशत छुट दिने घोषणा गरेको छ । कम्पनीले यस फास्ट चार्जजरमा १ वर्षको वारेन्टी दिएको छ ।

