काठमाडौं । निसान पहिलो इलेक्ट्रीक कार लिफ काठमाडौं आइपुगेको छ । आधिकारीक वितरक पायोनियर मोटोकर्पले आगामी १० सेप्टेम्बरबाट यसको आधिकारीक विक्री सुरु गर्ने जानकारी दिएको छ ।

कम्पनीले लिफको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर यसअघि नै बुकिङ लिइरहेको थियो । अहिले पनि लिफ बुकिङ गर्न चाहने ग्राहकले २ लाख रुपैयाँ तिरेर बुकिङ गर्न सक्ने छन् ।
बुकिङ गरेका ग्राहकलाई १० सेप्टेम्बरबाट डेलिभरी दिनेगरी पायोनियर मोटोकर्पले तयारी गरेको जनाएको छ । निसान लिफको एक मात्र भेरियन्टमा नेपाल आएको छ । नेपाल आएको लिफमा ४० किलोवाट आवरको व्याट्री र ११० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको छ ।

निसान लिफलाई एक पटकको फुल चार्जमा ३६३ किलोमिटर गुडाउन सकिने कम्पनीले जनाएको छ । तर, सडकको अवस्था, वातावरण जस्ता विषयले यसको रेञ्ज निर्धारण हुने हुँदा करिब ३०० किलोमिटर रेञ्ज आउने अनुमान गर्न सकिन्छ ।
कारमा व्याट्री बचतको लागि विभिन्न तीन ड्राइभिङ मोड उपलब्ध रहेको छ । ईको मोडमा कार चलाउदा सामान्यभन्दा १० प्रतिशत बढी रेञ्ज आउने कम्पनीले दाबी गरेको छ ।

यसमा दिइएको व्याट्रीलाई घरायसी विद्युतवाट ३ किलोवाट क्षमताको एसी चार्जरले चार्ज गर्दा करिब १६ घन्टा लाग्ने छ भने, ६ किलोवाट चार्जर प्रयोग गर्दा ८ घन्टामा फुलचार्ज गर्न सकिने छ । यसलाई डिसी फास्ट चार्जरले चार्जगर्दा ८० प्रतिशतसम्म चार्ज गर्न ६० मिनेट लाग्ने छ ।
कम्पनीले गाडी किन्ने ग्राहकलाई ७.२ किलोवाट क्षमताको एसी चार्जपनि उपलब्ध गराउने जनाएको छ ।

