इटालियन इलेक्ट्रिक मोटरसाइकल उत्पादक इनर्जीका मोटर कम्पनीले २०१८ को पहिलो ६ महिनामा हालसम्मकै धेरै आम्दानी गरेको छ । कम्पनीले यो अवधिमा गरेको आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ गुणाले धेरै हो । यद्यपी कम्पनीले कति संख्यामा मोटरसाइकल बिक्री भयो भन्ने तथ्य भने बाहीर ल्याएको छैन ।
तर अघिल्लो वर्ष जति संख्यामा मोटरसाइकल बिक्री भएको थियो, यो वर्षको ६ महिनामा त्यति नै संख्यामा बिक्री भएको कुरा भने कम्पनीले उल्लेख गरेको छ । इलेक्ट्रीक सुपर मोटरसाइकल इनर्जीकाको सबैभन्दा धेरै बिक्री हुने मोडल इओ हो भने त्यस पछि स्ट्रीटफाइट इभा हो ।
जर्मनी, नेदरल्याण्ड र स्वीडेनमा आंशिक सफलता हात पारेको इनर्जीकाले विश्वव्यापी रुपमा आफूलाई विस्तार गर्ने योजना बनाएको छ । आधुनिक प्रविधिमा आधारीत विद्युतीय मोटरसाइकल उत्पादक कम्पनीले इनर्जीकाले २०१७ को अन्त्यमा नयाँ मोडल बजारमा ल्याएको थियो । इभा इसेस ९ मोडल निक्कै चर्चित थियो जुन अहिले पनि बिक्री भइरहेको छ ।
कम्पनीले विद्युतीय मोटरसाइकल उत्पादनका लागि (आरएन्डडी) रिसर्च एन्ड डेभलपमेन्टमा ठूलो धनराशी खर्च गरि रहेको छ । इनर्जीकाको इगो मोटरसाइकल २०१९ मोटोइ वेल्र्ड कपमा सिंगल स्पेस–मोटरसाइकल हुने छ । युरोपियन बजारमा इगोको मूल्य करिब ३५ लाख रुपैयाँ (३५ हजार डलर) तोकिएको छ ।
हरेक वर्ष हुने मोटोजीपीमा इनर्जीकाको इलेक्ट्रिक इगोले उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरिएको छ । कम्पनीले मोटरसाइकलबाट आएको आम्दानीलाई नयाँ र परिमार्जित मोडलका मोटरसाइकलको विकासमै खर्च गर्ने जनाएको छ ।
इनर्जीकाको इगो मोटरसाइकलले गिनिज रेकर्डसमेत कायम गरेको छ । विद्युतीय सवारीमा सबैभन्दा धेरै दुरी तय गर्ने मोटरसाइकलको रुपमा इगोले गिनिज रेकर्ड बनाएको हो ।

