हुन्डाई भेन्यूको ‘मिड-लाइफ’ फेसलिफ्ट तयार हुँदै

काठमाडौं । हुन्डाई मोटर्सको सव कम्प्याक्ट एसयूभी भेन्यू सन् २०१९ मा सार्वजनिक भएको थियो । आफ्नो लाइफको करिब दुई वर्षपछि भेन्यूको मिडलाइफ फेसलिफ्ट मोडल आउने पक्का भएको छ ।

कोरियाली मिडियाहरुले प्रकाशित गरेको रिपोर्ट अनुसार भेन्यूको फेसलिफ्ट मोडल आगामी महिना सार्वजनिक हुनेछ । सामान्यतया नयाँ मोडल लन्च भएको चार वर्षमा फेसलिफ्ट ल्याउने चलन रहेको छ । तर, हुन्डाईले क्रेटामा जस्तै भेन्यूमा पनि फास्ट ट्रायाकमा फेसलिफ्ट मोडल ल्याउन लागेको हो ।

नयाँ हुन्डाई भेन्यूलाई कोरियामा परिक्षण भइरहेको देखिएको छ । स्पाई इमेजहरुमा देखिए अनुसार हुन्डाई भेन्यूमा फरक किसिमको ग्रिल देखिएको छ । नयाँ ग्रिल हुन्डाईको डिजाइन ल्याङ्वेजसँग मिल्दो जुल्दो देखिन्छ ।

यही डिजाइन हुन्डाईका टुसान तथा क्रेटामा प्रयोग भएको छ । यसमा एलइडी डिआरएल सहितको एलइडी प्रोजेक्टर हेडल्याम्प, नयाँ डिजाइनको अलोय ह्वीलको प्रयोग भएको छ । यसको ओभरअल साइज भने अहिले भएको भेन्यूसँग समान रहने अनुमान गरिएको छ ।

नयाँ भेन्यूमा फरक लुक्स दिनका लागि अगाडि र पछाडिको बम्परको डिजाइन पनि परिमार्जन भएको छ । पछाडि दिएको लेड लाइटमा पनि धेरै फरक पन देख्न सकिन्छ ।

नयाँ फेसलिफ्ट मोडलको क्यावीनमा पनि फरक फ्रयाब्रिक तथा नयाँ अपडेट भएको इन्फोटेन्मेन्ट सिस्टम र इन्टुमेन्ट क्लस्टर रहेको अनुमान गरिएको छ ।

यसको लुक्स र डिजाइनमा परिवर्तन गरिएपनि इन्जिन अप्सन भने अहिले कै हुने छ । यसमा १.२ लिटरको नेचुरल्ली एस्पायर्ड तथा १.० लिटर टर्बो चार्ज्ड पेट्रोल र १.५ लिटर डिजल इन्जिन रहने छ ।

अन्तर्राष्ट्रिय बजारमा विक्री हुने भेन्यू र भारतमा उत्पादन हुने भेन्यूमा साइज फरक रहेको छ । भारतीय भर्सन अहिले परिक्षणमा देखिएको छैन ।


Back_to_top