काठमाडौं । उपत्यकाको ट्राफिक जाममा केही सहज ड्राइभिङ चाहने मानिसहरुले अटोमेटीक गियरबक्स जडान भएको कार किन्न थालेका छन् । केही वर्ष अगाडिसम्म अटोमेटीक गियरबक्स भएको गाडी धेरै मानिसको रोजाइमा नै पर्ने थिएन । तर, बढ्दो ट्राफिक जामको कारण मानिसले अटोमेटीक गियरबक्स भएको गाडी रोज्न थालेका छन् ।
अटोमेटीक गाडीहरु तुलनात्मकरुपमा म्यानुयलभन्दा महंगो हुने गर्छ । त्यसमा पनि एएमटी, टर्क कन्भर्टर, सिभीटी, डिएसजी, डिसीटी जस्ता गियरबक्समा मूल्य अनुसारको गाडी उपलब्ध रहेका छन् ।
अधिकांश कम्पनीले आफ्नो इन्ट्री मोडलमा एएमटी गियरबक्स दिएर ल्याएका छन् । मूल्यका हिसावले म्याुयलको तुलनामा केही प्रतिशत मात्रै महंगो हुने भएकाले यस्ता गाडी धेरै मानिसको बजेटमा पनि आउने गरेको छ ।
बजारमा अहिले रेनो क्वीड, हुन्डाई सेन्ट्रो, फोर्ड फिगो र डाट्सन रेडी गो सबैभन्दा कम मूल्यका अटोमेटीक कार हुन् । अटोमेटीक गिएर सिफ्ट प्रविधि (एएमटी) भएका कारण यी गाडी चलाउन निकै सहज हुनेगर्छ ।
रेडी गो
बिक्रेता पायोनियर मोटोकर्पले विक्री गर्दै आएको रेडी गो पनि अटोमेटीक गियरबक्समा उपलब्ध रहेको छ । कम्पनीले नयाँ रेडी गो अटोमेटीकको मूल्य २५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ ।

निकै स्पोर्टी डिजाइनमा उपलब्ध रेडी गोमा एल सेपमा डिआरएलएस, एलइडी फगल्याम्प, १४ इन्चको अलोय ह्वील, डुअल टोन कलर अप्सन, एलइडी सिग्नेचर टेलल्याम्प पाउन सकिन्छ । यसमा पनि १.० लिटर इन्जिन उपलब्ध छ । यो नेपालमा पाइने सबैभन्दा सस्तो अटोमेटीक कार हो ।
रेनो क्वीड
रेनोको इन्ट्री मोडल क्वीडमा १.० लिटर इन्जिन र अटोमेटीक गिएर सिफ्ट प्रविधि युक्त गियरबक्स जडान भएको छ । यसमा रहेको ९९९ सीसी क्षमताको पेट्रोल इन्जनले अधिकतम ६७ बीएच पावर र ९१ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा रोटरी डायल गिएरबक्स लगाइएको छ । यो कारको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ । रेनोले क्वीडको एउटा मात्रै भेरियन्ट अटोमेटीक गियरबक्समा उपलब्ध गराएको छ । क्वीड आरएक्टी (ओ) अटोमेटीक भेरियन्टको मूल्य २८ लाख ४९ हजार रुपैयाँ तोकेर एड्भान्स अटोमोवाइलले विक्री गर्दै आएको छ ।
हुन्डाई सेन्ट्रो
हुन्डाईको चर्चित मोडल सेन्ट्रो पनि अटोमेटीक गियरबक्स भएको कार हो । नेपाली बजारमा लक्ष्मी इन्टिरकन्टिनेन्टल्स प्रालिले बिक्री वितरण गर्दै आएको सेन्ट्रो मग्ना भेरियन्टमा एएमटी गियरबक्स दिइएको छ ।

१०८६ सीसी क्षमताको ४ सिलिन्डर इनलाइन, डिओएचसी इन्जिन दिइएको छ । उक्त इन्जिनले ५५०० आरपीएममा ६८ बीएच पावर र ४५०० आरपीएममा ९९ एनएम टर्क जेनेरेट गर्छ । सेन्ट्रो एएमटीको मूल्य ३० लाख ५६ हजार रुपैयाँ तोकिएको छ ।
फोर्ड फिगो
फोर्ड फिगो टाइटेनियम अटोमेटीक गियर बक्समा उपलब्ध रहेको छ । १.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम ९६ पीएस पावर प्रदान गर्छ ।

फिगो टाइटानियम प्लस अटोमेटीक भेरियन्टको मूल्य ३६ लाख ९९ हजार रहेको छ । भारतमा उत्पादन बन्द भइसकेको कारण नेपालमा केही समयसम्म मात्र यो मोडल उपलब्ध हुने अनुमान गरिएको छ । फोर्ड फिगो सबैभन्दा धेरै फिचर भएको अटोमेटीक मोडल हो ।

